काठमाडौँ । महानवमीका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि आज दिनभर खुला गरिएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि मन्दिर खुला गरिएको हो।
वर्षमा एक दिन मात्र महानवमीका अवसरमा सर्वसाधारणका लागि खुला गरिने परम्परा अनुसार आज बिहानैदेखि तलेजु भवानीको मन्दिरमा हजारौँ भक्तजनको बाक्लो उपस्थिति र घुइँचो लागेको छ। दर्शनार्थीको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै अड्डाले सरोकारवाला निकायहरूसँग छलफल गरी दर्शनावधिको समय तय गरेको कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन्। यसअघि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको शुभसाइत अनुसार असोज ३१ गते शनिबार बिहान ७.३७ बजे तलेजु भवानीलाई हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराई बिहान १०स्३९ बजेको साइतमा स्थिरासन गराइएको थियो।
महाअष्टमीको राति भवानीलाई मूलचोकमै राखेर ५४ बोका र ५४ राँगाको बलिसहित तान्त्रिक विधिबाट कालरात्रि पूजा सम्पन्न गरिन्छ। विजयादशमीसम्म मूलचोकमै राखेर पूजा आराधना गरिने भवानीलाई कात्तिक ४ गते बुधबार बिहान १०स्५१ बजेको साइतमा यात्रा गराई बिहान ११स्५२ बजे पुनः मूल मन्दिरमा स्थिरासन गराइने कार्यक्रम रहेको छ।
