चितवन । गैंडाकोट नगरपालिका–२ स्थित नारायणी नदी किनारमा आएको ९, १० र ११ असोजमा बाढीबाट प्रभावित भई अस्थायी आश्रयस्थलमा बस्दै आएका १४० घरपरिवारलाई पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरिएको छ। गैंडाकोट नगरपालिकाको अनुरोध तथा जागृति बाल तथा युवा सरोकार नेपाल ९जेसीवाईसीएन० को समन्वयमा सेभ द चिल्ड्रेनको सहयोगमा करिब १४ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो।
जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माका अनुसार नारायणी नदी किनारमा बसोबास गर्दै आएका १४० घरपरिवार बाढीबाट प्रभावित भएपछि उनीहरूलाई नजिकैको महेन्द्र स्मारक आधारभूत विद्यालयमा स्थापना गरिएको अस्थायी आश्रयस्थल ९होल्डिङ सेन्टर० मा सुरक्षित रूपमा राखिएको थियो। सोही स्थानमा नगरपालिका तथा वडा कार्यालयसँगको समन्वयमा प्रभावित परिवारलाई अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरिएको हो।
प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले प्रत्येक परिवारका लागि शेल्टर किट, ब्ल्याङ्केट, पी–फोम, साबुन, टुथब्रस, टुथपेस्ट, स्यानिटरी प्याड तथा झुललगायतका सामग्री समावेश गरी पारिवारिक राहत प्याकेज तयार पारिएको थियो।
महासचिव शर्माले बाढीका कारण विस्थापित भई अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका परिवारको तत्कालीन आवश्यकता पूरा गर्न पहिलो चरणमा राहत सामग्री उपलब्ध गराइएको जानकारी दिए। स्थानीय सरकार र जागृति बाल तथा युवा सरोकार नेपाल को अनुरोधमा सेभ द चिल्ड्रेनको सहयोग र संस्थाको समन्वयमार्फत राहत सामग्री प्रभावित परिवारसम्म पुर्याइएको उनले बताए।
जागृति बाल तथा युवा सरोकार नेपालले भूकम्प कोभिड भोटेकोशी बाढी लगायत देशमा विभिन्न प्रकोप भइराख्दा विभिन्न विकासका साझेदार संस्था निजी क्षेत्रसँगको सहकार्यमा राहत पुनर्स्थापना र जीविकोपार्जनमा समेत सहयोग गर्दै आइरहेको कुरा संस्थाका अध्यक्ष तिलोतम पौडेल ले बताए।
उनले विपदमा राहत र पुनःस्थापना सँगसँगै बालबालिका किशोर किशोरी सुत्केरी तथा गर्भवती महिला र जेष्ठ नागरिकमाथि हिंसा दुर्व्यवहार बेचबिखन भेदभाव पनि हुन सक्ने कुरा तर्फ पनि थप ध्यान दिनुपर्ने कुरा बताउँदै सहयोग सँगसँगै मनोविमर्श र सचेतना पनि आवश्यक भएको बताए।
