काठमाडौँ। आगामी शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश भू(भागमा भारी वर्षाको सम्भावना देखिएपछि सम्भावित बाढी, पहिरो तथा मौसमी विपद्को जोखिम न्यूनीकरणका लागि सरकारले उच्च सतर्कता अपनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित क्षति न्यूनीकरणका लागि अनुगमन, निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने भएको छ।
प्राधिकरणका अनुसार नदीको जलसतह, वर्षाको मात्रा र सम्भावित जोखिमको ‘रियल टाइम’ निगरानी गर्दै सर्वसाधारणलाई हरेक घण्टा पूर्वसूचना तथा अद्यावधिक विवरण उपलब्ध गराइनेछ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी कुन नदीमा बाढीको सतह कहिले खतराको तहमा पुग्न सक्छ र त्यसको सम्भावित प्रभाव कुन क्षेत्रमा पर्न सक्छ भन्नेबारे प्राविधिक विश्लेषण गरिनेछ।
जोखिम बढेको अवस्थामा नागरिकको मोबाइलमा एसएमएसमार्फत पूर्वसूचना पठाइने भएकाले त्यस्ता सन्देशलाई गम्भीरतापूर्वक लिन प्राधिकरणले आग्रह गरेको छ।
समुद्रमा विकसित हुन सक्ने ठूलो आँधी प्रणाली र त्यसको दिशामा आउन सक्ने परिवर्तनलाई समेत प्राधिकरणले सूक्ष्म निगरानी गरिरहेको छ। मौसम प्रणाली छोटो समयमै परिवर्तन हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा भारी हिमपात र मध्यपहाडी तथा तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ।
जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई तत्काल सुरक्षित स्थानतर्फ फर्किन आग्रह गरिएको छ। साथै, ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न र सम्भावित उद्धारका लागि हेलिकप्टर उडानको पूर्वतयारीमा रहन सुझाव दिइएको छ।
वर्षा र बाढीपहिरोको जोखिम बढेमा मुख्य राजमार्ग तथा सडकमा सवारी आवागमन पूर्ण रूपमा रोक्न सकिनेछ। शुक्रबार र शनिबार अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्ने तयारी भइरहेको छ भने यातायात व्यवसायीलाई पनि जोखिमको अवस्था हेरेर मात्र सेवा सञ्चालन गर्न भनिएको छ। पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल पन्छाउन मुख्य राजमार्गहरूमा डोजर तथा भारी उपकरणहरू तयारी अवस्थामा राखिएका छन्।
भारी वर्षाले खेतमा पाकेको धानबाली र भण्डारण गरिएको अनाजमा क्षति पुर्याउन सक्ने भएकाले बाली सुरक्षित राख्न किसानहरूलाई आग्रह गरिएको छ। यस सम्बन्धमा कृषि मन्त्रालयमार्फत छुट्टै एडभाइजरीसमेत जारी गरिएको छ।
यसैगरी, बाढीका बेला नदी किनारमा गएर भिडियो खिच्ने, टिकटक बनाउने वा सामाजिक सञ्जालका लागि सामग्री तयार गर्नेजस्ता जोखिमपूर्ण काम नगर्न प्राधिकरणले चेतावनी दिएको छ। खोलामा पसेर दाउरा वा अन्य सामग्री संकलन गर्ने प्रवृत्ति घातक हुन सक्ने भन्दै त्यस्ता गतिविधिबाट टाढा रहन अपिल गरिएको छ।
सम्भावित विपद् सामना गर्न देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ। ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित कमान्ड पोस्टमार्फत मौसमको अवस्था, नदीको जलसतह र सम्भावित जोखिमको चौबीसै घण्टा निगरानी भइरहेको छ।
सरकारले मौसम तथा नदीको अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले आधिकारिक पूर्वसूचना र स्थानीय प्रशासनबाट जारी हुने निर्देशनहरू पूर्ण रूपमा पालना गर्न सर्वसाधारणसँग अपिल गरेको छ।
