काठमाडौँ। सरकारले गत साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको ‘विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली’ ९ईडीएल भिआरएस० मार्फत सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइको काम औपचारिक रूपमा सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको अत्यधिक चाप र लामो समयदेखि थन्किएर रहेको छपाइ सम्बन्धी जटिल समस्या समाधान गर्न यो नयाँ प्रविधि अपनाएको हो।
नयाँ प्रणाली लागू भएसँगै नयाँ लाइसेन्स लिने तथा पुरानो नवीकरण गर्ने सम्पूर्ण प्रक्रिया थप द्रुत, सहज र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ। ईडीएल भिआरएसमा प्रविष्ट गरिएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्ने व्यवस्था मिलाइएको छ। सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भएपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयहरूमा पठाउने व्यवस्था गरिएको छ। यस व्यवस्थाले विगत लामो समयदेखि छपाइ र वितरणमा देखिँदै आएका ढिलासुस्ती र नागरिकले भोग्नुपरेका सास्ती कम हुने विभागको दाबी छ।
नयाँ प्रविधिको सुरुवात गर्दै पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित कार्यालयहरूमा पठाइसकिएको विभागले जनाएको छ। नयाँ व्यवस्था अनुसार प्रदेश सरकारहरूले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरी आफैँ लाइसेन्स छपाइ गर्न सक्ने प्रावधान रहेको छ।
सोही प्रावधान अनुसार मधेश प्रदेशले आफ्नै व्यवस्थापनमा छपाइ अघि बढाएको छ भने लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सम्झौता गर्दै छपाइ प्रक्रिया अघि बढाएको छ। प्रदेश सरकारले सम्झौता नगरेको खण्डमा पनि सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रको प्रत्यक्ष समन्वयमा छपाइको व्यवस्था मिलाइनेछ।
