काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारदेखि शुरू भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलता अनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका निकालेसँगै औपचारिक रूपमा वडा अधिवेशन शुरू भएको हो । गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।
पार्टीको अधिवेशनमा वडाक्षेत्र भित्रका क्रियाशील सदस्य वडा अधिवेशनका सदस्य हुनेछन् । उक्त अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ । कांग्रेसको विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउँछन् । गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्षमुनिका एक युवासहित सात जना वडा सदस्यमा निर्वाचित हुनेछन् ।
कांग्रेस विधानमा नगर(उपमहानगरपालिका वडा अधिवेशनले भने दुई महिला, एक दलित र ३० वर्षमुनिका दुई युवासहित आठ जनालाई वडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ । यस्तै, महानगरपालिकाको वडा अधिवेशनबाट कम्तीमा तीन महिला, एक दलित र ३० वर्षमुनिका तीन युवासहित ११ जना वडा सदस्यमा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिए ।
कांग्रेसको विधानमा वडा सभापतिलाई वडा सदस्यका लागि मनोनीत गर्ने अधिकार स्थानीय तहअनुसार फरकफरक व्यवस्था गरिएको छ । जसअनुसार गाउँपालिका वडा सभापतिले पाँच, नगर(उपमहानगरपालिका वडा सभापतिले छ र महानगरपालिका वडा सभापतिले सात जनालाई मनोनीत गर्न पाउँछन् ।
वडा सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य अनिवार्य महिला हुनुपर्ने व्यवस्था तथा समावेशी सिद्धान्तअनुरूप सबै समुदायको प्रतिनिधित्व, अल्पसंख्यकको प्रतिनिधित्व, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व, युवा प्रतिनिधित्व समेतलाई ध्यानमा राखी क्रियाशील सदस्यमध्येबाट वडा सदस्य मनोनीत गर्नुपर्ने वैधानिक प्रावधान रहेको संयोजक खड्काले बताए ।
उनका अनुसार कांग्रेसको विधानअनुसार प्रत्येक महिनामा कम्तीमा एक पटक वडा कार्यसमितिको बैठक बस्नुपर्ने व्यवस्था छ । क्षेत्रीय अधिवेशनका प्रतिनिधिलाई वडा कार्यसमितिको बैठकमा आवश्यकताअनुसार आमन्त्रण गर्न सकिने विधानमा उल्लेख छ । यस्तै वडा कार्यसमितिले मातहतका टोल कार्यसमितिका सभापतिलाई वडा कार्यसमितिको बैठकमा अनिवार्य आमन्त्रण गर्नुपर्ने हुन्छ । कांग्रेसको विधानमा एउटै व्यक्ति क्षेत्रीय अधिवेशन प्रतिनिधि र गाउँपालिका वडा कार्यसमितिमा बस्न सक्ने प्रावधान छ ।
गाउँ(नगररउपमहानगररमहानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुनेछन् । क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन गर्ने व्यवस्था गरिएको छ । आज छलफलमा जुटिरहेका वडाहरूले भोलिमात्र चुनाव गरी स्थानीय तहमा नेतृत्व चयन र प्रतिनिधिहरू चयन गर्नेछन् ।
यसैबीच कांग्रेस सभापति गगनकुमार थापाले शनिबारको संविधान दिवस र पार्टीको १५ औँ महाधिवेशनको दिनमा कांग्रेस नेताहरू उत्साही भएको बताएका छन् । उनले महाधिवेशनबाट आएको कांग्रेसले संविधानको जगेर्ना गर्ने बताएका छन् । उनले संविधानका कतिपय प्रसंग संशोधन गर्नुपर्ने भन्दै महाधिवेशनबाट समयको मागअनुसार बदल्नु पर्ने कुराहरूलाई अगाडि बढाउनेसमेत बताए ।
उनले महाधिवेशनबाट कांग्रेस थप सशक्त भएर आउने बताएका छन् । उनले एउटै मत बनाएर जाने सर्वोत्तम प्रयास भएको बताउँदै वडा अधिवेशनमा सबैलाई मिलाएर अगाडि बढ्न जिम्मेवार नेताहरूलाई आग्रहसमेत गरेका छन् । सभापति थापाले वडा अधिवेशनलाई सफल बनाउन सबैले संयमित भएर लाग्नसमेत आग्रह गरेका छन् ।
