काठमाडौ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले तयार पारेका छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको कार्यदलको बैठकले दुवै नेताले प्रस्तुत गरेका प्रतिवेदनको अध्ययन तथा छलफल गरी साझा निष्कर्षसहित एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो। बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले दुईवटा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका थिए।
उनले एउटा महासचिव पोखरेलको तर्फबाट र अर्को आफूले तयार पारेको प्रतिवेदन रहेको जानकारी गराएका थिए। प्रतिवेदनमाथि छलफल गर्दै कार्यदलका सदस्यहरूले छुट्टाछुट्टै दस्तावेज पेस गर्नुभन्दा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसँग सम्बन्धित सबै विषयलाई समेटेर एउटै प्रतिवेदन तयार गर्नु उपयुक्त हुने निष्कर्ष निकालेका छन्।
कार्यदलले शनिबारदेखि आवासीय रूपमा बसेर दुवै प्रतिवेदनमा समेटिएका विषयको अध्ययन तथा थप छलफल गर्ने भएको छ। त्यसक्रममा दुवै प्रतिवेदनका साझा तथा फरक विषयलाई समेट्दै अन्तिम प्रतिवेदन तयार गरिने जनाइएको छ। कार्यदलले तयार पार्ने एकीकृत प्रतिवेदन पार्टी सचिवालयमा पेस गरिनेछ।
