काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारबाट उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । बालेन सरकारबाट बाहिरिने उनी महोत्तरीकी दोस्रो मन्त्री हुन् । यसअघि महोत्तरी २ बाट निर्वाचित दिपक साह श्रममन्त्री नियुक्त भएको छोटो समयमै पदमुक्त भएका थिए । स्वास्थ्य बीमा बोर्डमा निलम्बित अवस्थामा रहेकी आफ्नी पत्नीलाई पुनर्बहाली गर्न भूमिका खेलेको विषयमा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री बालेनले उनलाई हटाएका थिए । शाह १४ दिनमात्रै मन्त्री पदमा रहे ।
महोत्तरीकै क्षेत्र नम्बर ४ बाट निर्वाचित भएको गौरी यादवलाई प्रधानमन्त्री शाहले २०८२ चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरेका थिए । यो मन्त्रालयमा सुरुमा अमरेश यादवको नाम आए पनि उनले अस्वीकार गरेपछि प्रधानमन्त्री शाहले केही समय आफैंसित राखेका थिए । पछि गौरीलाई जिम्मेवारी दिएका हुन् ।
ग्यासको अभाव समाधान गर्न नसकेपछि उनी दवावमा परिरहेकी थिइन् । त्यसमाथि हिजो मात्रै उद्योगीहरुलाई पाता फर्काउने उनको अभिव्यक्ति विवादमा परेको थियो ।
