मलेसिया । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) की सांसद तोसिमा कार्कीले नेपाललाई सहानुभूति नभई जलवायु न्याय आवश्यक रहेको बताएकी छन्। मलेसियामा आयोजित एसिया(प्रशान्त तथा दक्षिणपूर्वी एसियाका ३० भन्दा बढी देशका सांसदहरूको सम्मेलनमा सहभागी कार्कीले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि नेपालले ठुलो क्षति र पीडा भोगिरहेको विषय उठाएकी हुन्।
उक्त सम्मेलन जनसंख्या र विकास सम्बन्धी एसियाली संसदीय मञ्च ९एएफपीपीडी० अन्तर्गत आयोजना गरिएको थियो। कार्कीले हालैको भोटेकोशी बाढीको भिडियो र तथ्यांक प्रस्तुत गर्दै हिमालय, हिमनदी, वनजंगल र नदी संरक्षणमा नेपालले पुर्याउँदै आएको योगदानबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइन्।
उनले बाढी, पहिरो र अन्य विपदबाट सडक, पुल, घर, विद्यालय र स्वास्थ्य संस्था क्षणभरमै ध्वस्त हुने गरेको उल्लेख गर्दै नेपालजस्ता देशले पटकपटक ऋण लिएर पुनर्निर्माण गर्न नसक्ने बताइन्। कार्कीले जलवायु न्याय, क्षतिपूर्ति, ‘लस एन्ड ड्यामेज फन्ड’ र जलवायु उत्थानशीलताका विषयलाई प्राथमिकताका साथ उठाउँदै एएफपीपीडी अन्तर्गतका सदस्य देशका सांसदलाई आफ्ना संसदमा जलवायु परिवर्तन र न्यायलाई प्रमुख एजेन्डा बनाउन आह्वान गरिन्।
उक्त सम्मेलन मलेसियामा एएफपीपीडीको नयाँ ग्लोबल सचिवालय उद्घाटनसँगै आयोजना गरिएको थियो। जापानको टोकियोबाट क्वालालम्पुर सारिएको सचिवालयले जनसंख्या, लैंगिक समानता, बाल कल्याण र अन्य क्षेत्रीय विकासका मुद्दामा संसदीय सहकार्य बढाउने लक्ष्य राखेको छ।
