रसुवा । भोटेकोसी बाढीमा बगेका ५३८ जनाको शव भेटिएको छ भने ९७७ जना सम्पर्कविहीन रहेका छन्। शुक्रबार दिउँसो विभिन्न जिल्लामा ५३८ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार, रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी पूर्वमा १३४, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा २२१ जनाको शव भेटिएको हो।
बाढीका कारण तीन दिनदेखि ९७७ जना सम्पर्कविहीन छन्। जसमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १ र, अध्यागमन कार्यालयका चार जना कर्मचारी सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
यससँगै रसुवाका १६१, नुवाकोटका एक र मकवानपुरका ६६ जना सम्पर्कविहीन रहेको जानकारी आएको प्राधिकरणले जनाएको छ।त्यस्तै, नेपाल भ्रमणमा आएका ५१७ जना विदेशी नागरिक पनि सम्पर्कविहीन भएका छन्। यसैगरी, नेपाल घुम्न आएको विदेशमा बस्ने १२७ जना नेपाली नागरिक पनि तीन दिनदेखि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
हालसम्म ७३ जना घाइते भएका छन्। उनीहरूमध्ये रसुवाका ४३, धादिङका तीन र नुवाकोटका २७ जना रहेका छन्। उनीहरूको उपचार भइरहेको छ। पछिल्लो तीन दिनमा तीन हजार ७४२ जनाको उद्धार गरिएको छ। त्यस्तै, विदेशी नागरिक २५ जनाको पनि उद्धार गरिएको छ। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरबाट ७८ उडानमार्फत उनीहरूको उद्धार गरिएको हो।
