काठमाण्डौं । नेपाली कांग्रेसको आन्तरिक विवाद र आगामी १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आवश्यक कानुनी प्रक्रिया र अध्ययन पूरा गरी उक्त पूरक निवेदन मंगलबार दर्ता गरिएको हो । निवेदन दर्ता भएसँगै यसको सुनुवाइका लागि यही भदौ ११ गतेका लागि पेशी तोकिएको छ ।
देउवा र खड्काका तर्फबाट दर्ता भएको पूरक निवेदनलाई सर्वोच्चमा विचाराधीन रहेको कांग्रेसको आधिकारिकता सम्बन्धी मूल मुद्दासँगै राखेर सुनुवाइ गरिने छ । उक्त मुद्दा यसअघि नै सर्वोच्चको पूर्ण इजलासमा विचाराधीन रहेकाले यो नयाँ पूरक निवेदनलाई पनि सोही इजलासमा पेश गर्ने तयारी गरिएको छ ।
कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्षले त्यसलाई रोक्न कानुनी बाटो रोजेको हो । विशेष महाधिवेशनसम्बन्धी सर्वोच्चको यसअघिको फैसलालाई पुनरावलोकन गर्न अदालतले अनुमति ९निस्सा० दिइसकेको अवस्थामा मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महाधिवेशनको प्रक्रिया अगाडि बढाउन नहुने जिकिर निवेदकद्वयको छ । अदालतले आगामी ११ गतेका लागि पेशी तोकेसँगै अब सोही दिन यस विषयमा थप कानुनी बहस हुनेछ ।
