लुम्बिनी । जनता समाजवादी पार्टी ( जसपा ) नेपालले लुम्बिनी प्रदेशका तीन जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएको भन्दै कारबाही तयारी गरी फेरि ३ बुँदे स्पष्टीकरण सोधेको हो ।
पार्टीले मंगलबार संसदीय दलका नेता तथा मन्त्री सन्तोषकुमार पाण्डेय, सांसदहरू हेमा बेल्बासे केसी र भण्डारीलाल अहिरलाई पत्र पठाउँदै वर्तमान सरकारलाई समर्थन नगर्न तथा सरकारको विपक्षमा मतदान गर्ने निर्देशन दिएको थियो । तर पार्टीको निर्देशन विपरीत कार्य गरेकाले अनुसन्धानात्मक कारबाही गर्ने गरी स्पष्टीकरण सोधिएको महासचिव डा. सुरेन्द्रकुमार झाद्वारा जारी पत्रमा भनिएको छ ।
जसपाका चार जना सांसदमध्ये पाण्डेय, केसी र अहिरले विश्वासको मत दिएका थिए भने, अम्बिका काफ्लेले भने पार्टी निर्देशनअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिएकी थिइनन् । २४ घण्टामा चित्तबुझ्दो र सन्तोषजनक जवाफ नआएमा पार्टीको विधान तथा प्रचलित निर्णय बमोजिम आवश्यक अनुशासनको कारबाही प्रक्रिया अघि बढाउने पत्रमा उल्लेख छ । विश्वासको मत दिएका पाण्डेय शहरी विकास तथा ऊर्जा, सिँचाइ तथा खानेपानी र अहिर आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्री छन् ।
