काठमाडौँ । नेपाली काँग्रेसले राजदूत नियुक्तिमा भएको ढिलाइप्रति चासो व्यक्त गर्दै तत्काल नियुक्त गर्न माग गरेको छ। लामो समयदेखि विभिन्न मुलुकमा राजदूत पद रिक्त रहँदा नेपालको विदेश नीतिमा नकारात्मक प्रभाव परेको काँग्रेसले बताएको छ। हालै सम्पन्न काँग्रेसको केन्द्रीय समितिको बैठकले तत्काल राजदूत नियुक्त गर्न सरकारलाई आग्रह गरेको छ।
राजदूत देशको प्रतिनिधित्व गर्ने महत्वपूर्ण संस्था भएकाले लामो समयसम्म पद रिक्त राख्नु उचित नभएको काँग्रेसको निष्कर्ष रहेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। वाणिज्य दूतावास तथा अन्य कूटनीतिक निकायमा आवश्यक जनशक्ति र नेतृत्वको अभाव हुँदा विदेशमा रहेका नेपालीले दुःख भोग्नुपरेको उल्लेख गरिएको छ। राहदानी नवीकरणदेखि मृतकको शव नेपाल ल्याउनेसम्मका सामान्य काममा समेत कठिनाइ भोग्नुपरेको उनले बताए।
विदेशबाट प्राप्त रेमिट्यान्सलाई मात्रै प्राथमिकता नदिई विदेशमा रहेका नेपाली नागरिकको जीवन र समस्याप्रति पनि सरकारले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ। चालिसेले भने, ‘धेरै लामो समयदेखि राजदूतहरू खाली छन्। राजदूतविहीन नहुँदा हाम्रो विदेश नीतिमा अपरिपक्वता देखिएको छ। दूतावास र वाणिज्य दूतावास नभएर प्रवासी नेपालीले आफ्नो राहदानी नवीकरण गर्ने लगायतका कुरामा दुःख पाइरहेका छन्। सरकारलाई रेमिट्यान्स प्यारो छ तर ती नागरिकको जीवनप्रति जिम्मेवारी देखाएको छैन। यी निकायमा चाँडोभन्दा चाँडो नियुक्ति गरिनुपर्छ।’
काँग्रेसले विभिन्न सरकारी निकायमा अध्यादेशमार्फत पदाधिकारीलाई अवकाश दिएर नयाँ नियुक्ति गरिएको विषयमा पनि प्रश्न उठाएको छ। पुराना पदाधिकारी हटाएर योग्य व्यक्ति ल्याउने दाबी गरि एपनि हालका नियुक्तिमा सत्तासँग निकट व्यक्तिलाई प्राथमिकता दिएको देखिएको कांग्रेसको आरोप छ।सरकारी नियुक्तिमा पारदर्शिता, निष्पक्षता र योग्यता प्रणाली पूर्ण रूपमा अवलम्बन नभएको भन्दै कांग्रेसले विरोध गरेको छ।
