काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट फिर्ता गर्न आग्रह गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र पठाउँदै कोइरालाले मुलुक आर्थिक अभावसहित विभिन्न समस्या झेलिरहेको अवस्थामा राज्यको सीमित स्रोत र साधन नागरिकको हितमा प्रयोग हुनुपर्ने बताएका छन्।
सरकारले आर्थिक वर्ष २०८३/ ८४ को बजेटमा विराटनगर महानगरपालिका–७, कोशी अस्पताल चोकमा रहेको कोइराला निवासको मर्मत तथा संरक्षणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो। तर डा.कोइरालाले उक्त रकम कोइराला निवासको मर्मत तथा संरक्षणमा खर्च गर्ने निर्णय आफूले नैतिक रूपमा स्वीकार गर्न नसक्ने बताएका छन्। उनले सो रकम अन्य अत्यावश्यक क्षेत्रमा खर्च गर्न सरकारलाई आग्रह गरेका छन्। कोइराला निवास विराटनगर महानगरपालिका–७ मा रहेको ऐतिहासिक घर हो। डा.कोइरालाका अनुसार उनका पिता कृष्णप्रसाद कोइरालाले शताब्दीअघि निर्माण गरेको उक्त घर नेपाली राजनीतिक तथा सामाजिक इतिहाससँग महत्वपूर्ण रूपमा जोडिएको छ।
कृष्णप्रसाद कोइरालाले शैक्षिक जागरणमार्फत समाज रूपान्तरणको अभियान अघि बढाएको र त्यसमा बीपी कोइरालालगायत परिवारका सदस्यहरूले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरेका छन्। कोइराला निवास लामो समयसम्म नेपाली राजनीतिक आन्दोलन र सामाजिक चेतनाको महत्वपूर्ण केन्द्रका रूपमा रहेको उनको भनाइ छ।
गत वर्ष भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कोइराला निवासमा आगजनी भएपछि यसको ऐतिहासिक संरचनामा क्षति पुगेको थियो। त्यसपछि सरकारले मर्मत तथा संरक्षणका लागि बजेट विनियोजन गरेको हो। तर डा। कोइरालाले देशका धेरै नागरिक अहिले पनि अभाव र कठिनाइमा रहेको भन्दै राज्यको स्रोत त्यस्ता नागरिकको आवश्यकता पूरा गर्न प्रयोग गर्नुपर्ने बताएका छन्।
‘नेपालको गाँस, बास र कपासका लागि जीवनभर संघर्षरत बीपीप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्न पनि राज्यले जनताको हितमा स्रोत परिचालन गर्नुपर्छ’ भन्ने आशय राख्दै उनले कोइराला निवासका लागि छुट्याइएको बजेट फिर्ता गर्न आग्रह गरेका छन्। डा. कोइरालाले सरकारलाई बजेट विनियोजन गरेकोमा धन्यवाद दिँदै कोइराला निवासका लागि छुट्याइएको २ करोड रुपैयाँ फिर्ता लिएर जनताको हितमा खर्च गर्न आग्रह गरेका हुन्।
