काठमाडौं । नेपाली कांग्रेसले तराई मधेशमा घटेका घटनाको न्यायिक समिति बनाएर स्वतन्त्र, निष्पक्ष ढङ्गबाट छानबिनको माग गर्ने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले गम्भीर घटना भएकाले सत्य(तथ्य सार्वजनिक गरेर कानुन बमोजिम दोषीलाई कारबाहीको माग गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताए।
उनका अनुसार यो विषयलाई कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा पनि उठाउनेछ। उनले भने, ‘न्यायिक छानबिन समिति आजको हाम्रो मुख्य प्रस्ताव हो। त्यो प्रस्तावलाई प्रतिनिधि सभा र राष्ट्रिय सभामा उठाउने पार्टीको तर्फबाट उठाउनुहुन्छ। अरू विपक्षी दलहरूसँग पनि त्यसका छलफल हुन्छ।’
सुनसरी र सिरहामा भएको घटना गम्भीर रहेकाले कर्मकाण्डी समितिले छानबिन गर्न नसक्ने कांग्रेसको निष्कर्ष छ । ‘त्यो गम्भीर घटना हो । घटनाको न्यायिक छानबिन हुनुपर्छ । स्वतन्त्र र निष्पक्ष ढंगबाट छानबिन हुनुपर्छ,’ महामन्त्री पौडेलले भने । उनका अनुसार न्यायिक समिति गठनको विषय दलको बैठकको मुख्य प्रस्ताव थियो । ‘प्रस्तावलाई प्रतिनिधिसभा र राष्ट्रियसभामा उठाउने र त्यस अनुसार समिति गठन गर्न दाबाब दिने, अरु विपक्षी दलहरूसँग पनि त्यसका बारेमा सहकार्य गर्ने भन्ने विषय बैठकबाट पारित भएको छ,’ पौडेलले भने ।
बैठकले सरकारले गरेका कतिपय निर्णय संविधानको मर्म, भावना र विधिसम्मत प्रक्रियाविपरीत भएको उल्लेख गर्दै सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा सिफारिसलगायतका निर्णय कानुन र स्थापित विधिअनुसार गर्न सरकारलाई सचेत गराउने निर्णय पनि गरेको छ ।
यस्तै, नागरिक, सांसद र संसदबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘नेपाली कांग्रेस संसदीय दल सांसद समन्वय सम्बन्धी कार्यादेश’ पारित गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि, २०८३ पनि बैठकले पारित गरेको छ ।कांग्रेसले सांसदले स्वकीय सचिव राख्ने विषयमा पनि निश्चित मापदण्ड बनाउन माग गरेको छ।
