काठमाडौँ । पूर्वराष्ट्रपति डा। रामवरण यादवले लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू अहिलेको शासन सत्तामा रहेको टिप्पणी गरेका छन्। बुधवार काठमाडौँमा चक्रप्रसाद बाँस्तोला बौद्धिकता र विद्रोह नामक पुस्तक विमोचन समारोहमा उनले यस्तो टिप्पणी गरेका हुन्। उनले अर्थमन्त्रीले संघीयता नराख्ने भनेर बोल्ने गरेको भन्दै आपत्ति जनाए।
पूर्वराष्ट्रपति यादवले संघीयता खारेज गर्नुपर्ने अभिव्यक्तिले देशलाई पछाडि धकेल्ने बताए। अन्ताराष्ट्रिय निकायमा काम गरेको र देशको आर्थिक–सामाजिक रूपान्तरण गर्ने अपेक्षा गरिएका विद्वान व्यक्तिहरूबाटै संघीयता विरोधी धारणा आउनु दुर्भाग्यपूर्ण रहेको उनको दावी छ। उनले लोकतन्त्रको मर्म र संविधानको भावना नबुझ्नेहरूले वर्तमान व्यवस्थालाई कमजोर बनाउन खोजेको आरोप लगाए।
यादवले भने, ‘अहिलेको शासन व्यवस्थामा लोकतन्त्रको मर्म नबुझ्ने मानिसहरू छन्। संविधानको कुरा होस् वा नहोस्, अर्थमन्त्रीले संघीयता खत्तम गर् भनेर बोल्छन्। यसले फेरि राणाकालीन सोच फर्काउने र देशलाई बर्बाद गर्ने खतरा देखिन्छ। हामीले विद्वान भनेर विश्वास गरेका व्यक्तिहरू नै संघीयता खत्तम गर्ने कुरा गर्छन् भने त्यो देशका लागि गम्भीर समस्या हो।’ संघीयतासँग धेरै पक्षहरू जोडिएको स्मरण गराउँदै उनले प्राप्त उपलब्धिको संरक्षण गर्दै अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे।
