कञ्चनपुर । च्याउ खोज्न गएका बेला सम्पर्कविहीन भएका कञ्चनपुरको बेल्डाँडी गाउँपालिका(३ को चउन्नीका तीन जना महिला फेला परेका छन् । आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र च्याउ खोज्न गएकी लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरी सोमबार बिहान पौने ६ बजेतिर टेलिफोनमार्फत सम्पर्कमा आएका थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान उनीहरूलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ । तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दुरीमा सेनाले फेला पारेको हो । सेनाका अनुसार उनीहरू आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक( डीएसपी ) टेकबहादुर रावतका अनुसार उनीहरूले फोन गरेर रूखमा बसिरहेको बताउँदै लिन आउन समेत आग्रह गरेका थिए । च्याउ खोज्न गएकै बेला सम्पर्कविहीन भएका भीमदत्त नगरपालिका–१९ का १४ महिलाको खोजी कार्य भने अझै जारी छ ।
