काठमाडौं । फाईनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।
स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बन्यो । टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो ।
अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिँदै उपाधि हात पार्यो । स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबाबमा राखेको थियो । साविक विजेता अर्जेन्टिना उपविजेतामा सिमित भएको छ भने स्पेनले यसअघि २०१० मा उपाधि जितेको थियो।
