डडेलधुरा । भीमदत्त राजमार्गअन्तर्गत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका–७ खस्र्याखानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु।प।प्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप आज बिहान करिब २ बजेको समयमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो भने चालकसहित ३ जना घाइते भएका छन्।
दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका –१ का अन्दाजी ४५ सुगन लोथ्याल र सोही ठाउका अन्दाजी २८ वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए।
प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका–१ का वर्ष ३५ वर्षीय सरस्वती लोथ्याल रहेका छन्। यसैगरी जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी पनि घाइते छन्। घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
