काठमाडौं । काठमाडौंको निषेधित क्षेत्र मानिने सिंहदरबारको गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरिएसँगै प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। नेकपा ( एमाले ) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित ७ जनालाई कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बुधबार बिहान सिंहदरबार अगाडिको आफ्ना मोटरसाइकल तेर्स्याएर पार्किङ गरी यातायात अवरुद्ध पारेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। अनेरास्ववियुका अनुसार प्रहरीले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, जितप्रसाद सिटौला, विशाल खड्का,रवि मगर,विष्णु उपरकोटी , सुदीप थापा, सिरिस बुढाथोकीलाई प्रहरीले नियन्त्रण दिएको छ। केही दिनअघि मिडिया हाउस अगाडि गाडी राखेर त्रास फैलाएको घटना र पछिल्लो समय राज्य आतंक बढेको भन्दै विद्यार्थीहरूले यो शैलीको विरोध प्रदर्शन गरेको बताएका छन् ।
अनेरास्ववियुका नीति योजना तथा अनुसन्धान आयोगका अध्यक्ष प्रकाश विष्टले यो सरकारको ‘अलोकतान्त्रिक र गैरजिम्मेवार’ कदम विरुद्धको सांकेतिक विरोध गरेको बताएका छन्। उनले व्यङ्ग्य गर्दै भने, ‘हामीले सरकारलाई यसो सहयोग गरेको हो। उनीहरूले पार्किङ गर्न जान्नुभएन कि भनेर सिकाउन लागेको हो।
सरकारले निकै बचपना देखाएर आफैले गाडी लगेर मिडिया हाउस अगाडि आतंक सिर्जना गर्ने र समाजका सबै तप्काका मानिसलाई दुःख दिने काम गरेको छ।’ उनले थपे, ‘आफ्नो यथार्थभन्दा माथि उठेर सरकारले गरेको यो गतिविधिको विरोधमा हामी सडकमा उत्रिन बाध्य भयौं। यो विरोध आगामी दिनमा पनि निरन्तर रहनेछ।’
