काठमाण्डौं । संघीय संसद प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३८ औँ बैठक आज बुधबार १.०० बजे बस्दै छ। आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा सुनाउने छन्।
यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन ( २०८१ साउन–२०८२ आषाढ मसान्तसम्म ) ’, ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आ।व। २०८१/ ०८२’ र ‘राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आ.व. २०८१/ ०८२’ संसदमा पेश गर्नेछिन्।
व्यवस्थापन कार्यअन्तर्गत अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। बैठकमा सन्धिमाथि छलफल र अनुमोदनको कार्यक्रम पनि राखिएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम सिंगापुरको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल गरियोस्’ र सोही प्रोटोकललाई ‘अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन्।
यस्तै, मन्त्री यादवले ‘अन्तर्राष्ट्रिय श्रम सिंगापुरको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९७३ ( नं. ८१ ) माथि सामान्य छलफल गरियोस्’ र सो महासन्धि ‘अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसदका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन्।
