काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को भिड्दै छन्। बोस्टनमा हुने खेल मध्यराति पौने २ बजे हुनेछ। सन् २०२२ को कतार विश्वकपमा सेमिफाइनल खेलेका यी दुई टोली यो पटक भने क्वार्टरफाइनलमा नै भिड्न लागेका हुन्। त्यसैले आज मध्यराति हुने खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ। फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरणको सुरुवात उपाधिका दुई बलिया दाबेदार फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्कोबीचको बहुप्रतीक्षित भिडन्तबाट हुँदैछ।
दुई पटकको विश्व विजेता तथा २०२२ संस्करणको उपविजेता फ्रान्सले उत्तर अमेरिकामा जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै पाँचै खेल जितेको छ। फ्रान्सले हालसम्म १४ गोल गर्दा मात्र दुई गोल व्यहोरेको छ। सात गोलसहित गोल्डेन बुट दौडमा अग्रस्थानमा रहेका कप्तान किलियन एमबाप्पेको नेतृत्वमा उस्मान डेम्बेले, माइकल ओलिसे र ब्राड्ली बारकोलाको आक्रमण पंक्तिले फ्रान्सलाई प्रतियोगिताकै सबैभन्दा खतरनाक टोलीमध्ये एक बनाएको छ। तर तेस्रो विश्वकप उपाधितर्फको यात्रामा फ्रान्सलाई अब कठिन चुनौती सामना गर्नुपर्नेछ।
फ्रान्सको सामना इस्माइल साइबारी र ब्राहिम डियाज नेतृत्वको मोरक्कोसँग हुँदैछ, जसले नकआउट चरणमा नेदरल्यान्ड्सलाई स्तब्ध बनाउँदै क्वार्टरफाइनल यात्रा तय गरेको थियो। सन् २०२२ को विश्वकपमा पहिलोपटक अफ्रिकी तथा अरब राष्ट्रका रूपमा सेमिफाइनल पुगेको मोरक्को यसपटक लगातार दोस्रो पटक अन्तिम चारमा स्थान बनाउन चाहन्छ। फ्रान्सले समूह ‘आई’मा नर्वे, सेनेगल र इराकलाई पराजित गर्दै नौ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो। त्यसपछि अन्तिम ३२ मा स्विडेनलाई ३–० ले हरायो भने अन्तिम १६ मा पाराग्वेलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्यो।
यता मोरक्कोले समूह ‘सी’मा स्कटल्यान्ड र हैटीलाई हराउँदै तथा ब्राजिलसँग बराबरी खेल्दै सात अंकसहित दोस्रो स्थानमा रहेर नकआउट चरणमा स्थान बनाएको थियो। अन्तिम ३२ मा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएको मोरक्कोले अन्तिम १६ मा क्यानडालाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो।
कतार विश्वकप २०२२ मा स्पेन र पोर्चुगललाई हराउँदै सेमिफाइनल पुग्दा मोरक्कोलाई सरप्राइज टोलीका रूपमा हेरिएको थियो। तर त्यसयता एटलस लायन्सले अफ्रिका मात्र होइन, विश्व फुटबलमै आफ्नो प्रभाव स्थापित गरेको छ। सन् २०२५ को अफ्रिका कप अफ नेसन्स ९एएफकन० को उपाधि जितेको मोरक्को ३४ खेलसम्म अपराजित रहने शानदार यात्रासहित विश्व वरीयताको छैटौं स्थानमा छ। त्यसैले टोली अब केवल उलटफेर गर्ने लक्ष्यमा नभई पहिलोपटक विश्वकप उपाधि जित्ने उद्देश्यका साथ मैदान उत्रिएको छ।
मुख्य प्रशिक्षक मोहम्मद ओवाहबीले भने, “हामी अब कसैका लागि आश्चर्यको विषय रहेनौं, र त्यसमा हामी गर्व गर्छौं। यो हाम्रो यात्राको सुरुवात मात्र हो। आगामी धेरै वर्षसम्म यस्तै प्रदर्शन जारी राख्न चाहन्छौं।” विश्वकपमा ब्राहिम डियाजले चार असिस्ट गर्दै टोलीको आक्रमणलाई नेतृत्व गरेका छन् भने इस्माइल साइबारीले तीन गोल गरेका थिए। सौफियान रहिमी र अजेद्दिन ओउनाहीले समान दुई–दुई गोल गरेका छन्।
तर मोरक्कोलाई क्वार्टरफाइनलअघि ठूलो धक्का लागेको छ। टोलीका प्रमुख स्ट्राइकर साइबारी ह्यामस्ट्रिङ चोटका कारण फ्रान्सविरुद्धको खेल गुमाउने भएका छन्। २५ वर्षीय साइबारी प्रतियोगिताका उत्कृष्ट खेलाडीमध्ये एक मानिएका थिए।
