कैलाली । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०को नाम लिएर अभिव्यक्ति दिएका कैलालीको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला झिकाइएको छ। डीएसपी चौधरीले ‘हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो।।।’ भनेर दिएको अभिव्यक्तिको भिडिओ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि उनलाई सामान्य सोधपुछका लागि भन्दै जिल्ला झिकाइएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले इलाका प्रहरी कार्यालय सुखडका डीएसपी चौधरीलाई जिल्ला बोलाइएको पुष्टि गरे। ‘माथिल्लो तहका सरहरूले पेशागत आचरण अनुसार काम गर्न काउन्सिल गर्ने उद्देश्यले बोलाइएको हो,’ उनले भने, ‘यो हाम्रो आन्तरिक सामान्य विषय हो। नियमित चलिरहन्छ।’ डीएसपी चौधरीले लागु औषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा ‘हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो’ भनेका थिए।
डीएसपी चौधरीले कार्यक्रममा थप भनेका थिए, ‘केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो। त्यसकारण हामी नेपाल पुलिस हो।’आफ्नो भनाइ मन परेमा ताली बजाउनुहोला भनेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरूले ताली बजाएको सार्वजनिक भिडिओमा देख्न सकिन्छ। त्यसक्रममा उनले आफू प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गर्दै प्रहरी संगठन राजनीतिक आधारमा नभई कानुनी प्रक्रियाअनुसार सञ्चालन हुने धारणा पनि राखेका थिए।
नेपाल प्रहरीले लगाएको बर्दी राष्ट्रपति लेलगाउन नपाउने बताएका उनले आफू २०७० सालमा १३८ जनाबाट छनोट भएर आएको व्यक्ति भएको पनि उल्लेख गरेका छन्। हामी भोट हालेर टीका लगाएर आएका होइनौँ। दारु भात खाएर आएकै होइन,’ उनले भनेका छन्। डीएसपी चौधरीले कार्यक्रममा बोलिएको भिडियो सार्वजनिक नगर्न अनुरोध गरेको आवाज पनि भिडियोमा सुनिन्छ। उक्त भिडियो भने सामाजिक सञ्जालमा सार्वजनिक भयो। जसको यतिबेला व्यापक चर्चा छ।
