काठमाण्डौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले अहिले भइरहेको झ्याप्प(झ्याप्प बत्तीको समस्या प्राधिकरणको नेतृत्वविहीनता कारण भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले वर्षायाममा प्राविधिक कारणले कहिलेकाहीँ विद्युत् अवरुद्ध हुनु ऊर्जा प्रणालीको स्वाभाविक प्राविधिक चुनौती भनेका छन्।
यसको अर्थ देशमा विद्युत् उत्पादनको अभाव छ वा प्रणाली नै असफल भएको भन्ने नहुने कुरा उनले स्पष्ट पारेका छन्। तर, यस्ता चुनौतीलाई तत्काल सम्बोधन गर्न सक्षम, अनुभवी र निर्णयक्षमता भएको नेतृत्व अनिवार्य हुने उनको भनाइ रहेको छ। अध्यक्ष घिसिङले लेखेका छन्, ‘दुर्भाग्य, देशको सबैभन्दा महत्वपूर्ण सार्वजनिक संस्थामध्ये एक नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि नेतृत्वविहीन अवस्थामा कायम मुकायमको भरमा सञ्चालन भइरहेको छ। यस्तो संस्थालाई नेतृत्वविहीन बनाएर समस्या समाधानको अपेक्षा गर्नु स्वयं सरकारको अदूरदर्शिता हो।
अझ विडम्बना त के छ भने, संस्थालाई सक्षम नेतृत्व दिन सरकारले कुनै तदारुकता देखाउँदैन, तर समस्या देखिएपछि मन्त्रालयबाट समिति गठन गरेर जिम्मेवारीबाट पन्छिन खोज्छ। समिति बनाएर विद्युत् प्रणाली चल्दैन, निर्णय गर्ने नेतृत्व चाहिन्छ।’ देशभर बत्ती ुझ्याप्प(झ्याप्पु जाने समस्या बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको छ।
प्रशासनिक अन्योल, निर्णयमा ढिलाइ र राजनीतिक हस्तक्षेपको मूल्य अन्ततः जनताले तिर्नुपरेको घिसिङ बताउँछन्। उनी भन्छन्, ‘ऊर्जा क्षेत्र कुनै राजनीतिक प्रयोगशाला होइन। यो देशको अर्थतन्त्र, उद्योग, सेवा र जनजीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो। यस्तो अवस्थामा निर्णय प्रक्रियामा ढिलाइ हुन सक्छ, कर्मचारीको मनोबल प्रभावित हुन सक्छ र दीर्घकालीन योजना कार्यान्वयनमा पनि असर पर्न सक्छ। यदि सरकारले ऊर्जा सुरक्षालाई साँच्चिकै प्राथमिकतामा राखेको हो भने, नेपाल विद्युत् प्राधिकरणलाई तत्काल पूर्णकालीन, सक्षम र स्वायत्त नेतृत्व दिनुपर्छ।’
उनले अगाडि भनेका छन्, ‘अन्यथा आजको झ्याप्प(झ्याप्प बत्ती भोलिको गम्भीर संस्थागत संकटमा रूपान्तरण हुन धेरै समय लाग्ने छैन। नेतृत्वको अभावलाई प्राविधिक समस्याको आवरणले ढाक्न खोज्नु समाधान होइन। ऊर्जा क्षेत्र निरन्तर निर्णय, समन्वय र प्राविधिक दक्षताले चल्ने क्षेत्र हो। त्यसैले सरकारको प्राथमिकता नेपाल विद्युत् प्राधिकरणलाई शीघ्र पूर्णकालीन, सक्षम र अधिकारसम्पन्न नेतृत्व प्रदान गर्दै संस्थागत स्थायित्व सुनिश्चित गर्नु हुनुपर्छ।’
साथै, घिसिङले निर्माणाधीन प्रसारण तथा वितरण प्रणालीको निर्माण सम्पन्न गरी छिटो चालु गर्ने र आधुनिकीकरण गर्ने, नियमित मर्मत(सम्भार, प्रणालीको विश्वसनीयता अभिवृद्धि र आपत्कालीन प्रतिक्रिया प्रणालीलाई अझ प्रभावकारी बनाउनेतर्फ समान रूपमा ध्यान दिन अनुरोध गरेका छन्। समस्या कहाँ छ भन्ने देशले देखिरहेको उल्लेख गर्दै उनले अब समाधान गर्ने जिम्मेवारी सरकारकै भएको जनाएका छन्।
