चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि विद्युतीय माध्यमबाट मतदान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको चौथो दिन हुने निर्वाचनका लागि ८० वटा विद्युतीय मतदान मेसिन ( इलेक्ट्रोनिक भोटिङ मेसिन ) तयारी अवस्थामा राखिएको निर्वाचन समितिले जनाएको छ। प्रतिनिधिहरूले विद्युतीय प्रणालीमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको र मतदान प्रक्रिया सहज बनाउन आवश्यक प्राविधिक तयारी पूरा गरिएको बताइएको छ।
निर्वाचन समितिका अनुसार एक प्रतिनिधिले आफ्नो मत दिन करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ। सोही आधारमा बुधबार राति ८.३० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ। मतदानअघि प्रतिनिधिहरूलाई विद्युतीय मतदान प्रणालीबारे जानकारी गराउने तथा मतदान प्रक्रिया बुझाउन डेमो अभ्यास सञ्चालन भइरहेको छ।
प्रतिनिधिहरूले मतदान मेसिनको प्रयोगबारे प्रत्यक्ष अभ्यास गर्न पाउने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि रातिदेखि मतदान हुन लागेको हो । केन्द्रीय सदस्यको मतदानपछि पदाधिकारीको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
