,चितवन । नेकपा ( एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) लाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा प्रयोग गर्न सुझाव दिएका छन् । रास्वपाको आजबाट चितवनमा सुरु भएको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले नयाँ दलका रूपमा रास्वपाले छोटो समयमा हासिल गरेको उपलब्धिलाई सङ्गठित र व्यवस्थित गर्नुपर्ने बताए ।
ज्ञवालीले रास्वपाको कार्यशैलीलाई गाडीको गतिसँग तुलना गरे । उनले गाडीमा एक्सिलेटरसँगै ब्रेक राखिएको र दुवैको महत्त्वपूर्ण भूमिका हुने बताए । ‘गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि राखिन्छ। यदि एक्सिलेटर मात्र थिचियो र ब्रेक थिचिएन भने दुर्घटना हुनसक्छ। रास्वपाले पनि आफ्नो गतिसँगै सन्तुलन ( ब्रेक ) को ख्याल गरोस्।’
नेता ज्ञवालीले नेकपा एमालेका तर्फबाट महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गरे। ज्ञवालीले रास्वपाले युवाहरूलाई संगठित गर्ने मामिलामा देखाएको सक्रियताबाट पुराना दलहरूले पनि पाठ सिक्नुपर्नेमा जोड दिए। उनले भने, ‘तपाईंहरूले जसरी युवाहरूलाई राजनीतिसँग जोड्नुभएको छ, यो शैली सबै अन्य दलहरूले पनि सिक्न जरुरी छ।’
