काठमाण्डौं । नेकपाका नेता वर्षमान पुनले सामाजिक सञ्जालको लहरबाट उदाएका राजनीतिक शक्तिहरूको आयु लामो नभएको दाबी गरेका छन्। पार्टी निकट अखिल नेपाल महिला सङ्गठनको भेलालाई सम्बोधन गर्दै नेता पुनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० जस्ता शक्तिहरू चाँडै ‘कोल्याप्स’ हुने र अन्त्यमा पुराना एवं स्थापित दलहरूले नै मुलुकको बागडोर सम्हाल्नुपर्ने जिकिर गरे। प्रतिनिधि सभा निर्वाचनमा सोचेभन्दा बढी सिट जितेको रास्वपाप्रति लक्षित गर्दै नेता पुनले वैचारिक र साङ्गठनिक आधार बिना आएका शक्तिहरू टिक्न नसक्ने टिप्पणी गरे।
उनले सामाजिक सञ्जालको प्रभावमा परेर जनताले मत दिए पनि अहिले आएर मतदाताहरूले पछुतो मान्न थालेको दाबी समेत गरे। सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ, देश हामीले नै सम्हाल्ने हो,’ नेता पुनले भने, ‘अस्ति भोट हाल्दा बुथमा मान्छे छैन, तर भोट गन्दा हजारौं छ। यो भर्चुअल दुनियाँ र अनलाइनको लहर मात्र हो। यस्तो शक्ति तीव्र रूपमा माथि जान्छ र त्यसरी नै तल खस्छ।’उनले विचार, आन्दोलन, त्याग र बलिदानको जगमा बनेको शक्ति मात्र स्थायी हुने तर्क गरे। नेता पुनले विगतको निर्वाचनमा मधेस प्रदेशमा सिके राउतको पार्टी ठुलो शक्तिका रूपमा उदाए पनि अहिले अस्तित्व सङ्कटमा परेको उदाहरण दिए।
‘७९ को चुनावमा मधेसतिर सिके राउतहरू ठुलो पार्टी भएर आएका थिए, अहिले ती कता छन् रु’ उनले प्रश्न गर्दै भने, ‘छिटो उठेको आन्दोलन त्यसरी नै तीव्र रूपमा तल जान्छ। आगामी स्थानीय चुनावसम्म पुग्दा यस्ता नयाँ भनिने शक्तिहरू हराएर जानेछन् र फेरि कांग्रेस, एमाले र माओवादी जस्ता स्थापित दलहरू नै अगाडि आउनेछन्।’
मुलुकका सुकुम्वासी बस्तीदेखि मधेसका ग्रामीण क्षेत्रका जनताले नयाँ शक्तिलाई परीक्षण गरे पनि उनीहरूबाट परिवर्तन सम्भव नभएको बुझिसकेको उनको भनाइ थियो। नेता पुनले भने, ‘भोट दिने मान्छेहरूले अहिले गल्ती भयो भनेर माफी मागिरहेका छन्। काम गरेर नेताहरूको परीक्षा हुने हो, तर यहाँ त एक महिनाभित्रै दुई–दुई जना मन्त्रीहरू बर्खास्त हुनुपर्ने स्थिति आयो। यो कुनै विचार र बलिदानबाट आएको शक्ति नभएको पुष्टि भइसकेको छ।’
नेता पुनले प्रविधिको प्रयोगलाई आत्मसात् गर्दै आफ्ना सङ्गठनहरूलाई पनि प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। सामाजिक सञ्जालमा देखिने आक्रामक र ध्वंसात्मक शैलीले लोकतन्त्रलाई बलियो नबनाउने भन्दै उनले कार्यकर्ताहरूलाई जनताको घरदैलोमा पुगेर वास्तविक मुद्दामा केन्द्रित हुन निर्देशन दिए। उनले मुलुकको राजनीतिक स्थिरता र समृद्धिका लागि स्थापित दलहरूले नै नेतृत्वदायी भूमिका खेल्नुपर्ने र त्यसका लागि पार्टीले नयाँ रणनीति तय गर्ने बताए। नेता पुनले वर्तमान परिस्थिति चुनौतीपूर्ण भए पनि आफ्ना एजेन्डा र संगठनको शक्तिले नै अन्ततः देशको निकास निकाल्ने विश्वास व्यक्त गरे।
