काठमाण्डौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा देखिएको लोकप्रियतावाद ( पपुलिजम ) को लहर दिगो नहुने दाबी गर्दै समाज रूपान्तरणका लागि कम्युनिष्ट पार्टीकै नेतृत्व अपरिहार्य रहेको बताएका छन्। शनिबार राजधानीमा आयोजित जनवर्गीय सङ्गठन समन्वय मोर्चाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले नागरिकको मन र विश्वास जित्न कार्यकर्ताहरूलाई गाउँ(गाउँ पुग्न निर्देशन दिए।
पार्टीभित्रका गल्ती र कमजोरीहरू सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै सहसंयोजक नेपालले भने, ‘हामीले विगतका कतिपय गलत विचारहरू बोकेर हिँड्यौँ होला, तर अब ती कमजोरी सच्याउनुपर्छ। समाज बदल्ने एउटा मात्र उद्देश्यका साथ कम्युनिष्ट पार्टीमा जनतालाई आबद्ध गराउनु अहिलेको आवश्यकता हो।’
उनले नेता(कार्यकर्तामा आत्मविश्वास र दृढ सङ्कल्प भए मात्र बाँकी चुनौतीहरूको सामना गर्न सकिने धारणा राखे। आफ्नो भूमिगत कालको अनुभव सुनाउँदै नेता नेपालले भने, ‘२०३६ सालमा म एउटा नचिनेको गाउँमा गएर एउटी आमाको घरमा आश्रय लिएको थिएँ। सुरुमा उहाँहरू डराउनुभएको थियो, तर मैले घरको काममा सघाउने र उहाँहरूको कुरा सुन्न थालेपछि राति १२ बजेसम्म पनि कुरा गर्ने स्थिति बन्यो। त्यो लगनशीलता र विश्वासले नै उनीहरू पार्टीप्रति प्रतिबद्ध भए।’ नेताहरू जनतासँग घुलमिल नभएकै कारण पार्टी कमजोर भएको उनको तर्क थियो।
कार्यक्रममा नेता नेपालले पार्टीका विभिन्न तहमा रहेका र राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूको कार्यसम्पादनको मूल्याङ्कन गरिने घोषणा गरे। उनले अहिलेसम्म मन्त्री, प्रधानमन्त्री, उपप्रधानमन्त्री र अन्य सरकारी निकायका प्रमुख भएका पार्टीका नेताहरूले आफ्नो कार्यकालमा के–के राम्रा काम गरे, त्यसको फेहरिस्त ९प्रतिवेदन० बुझाउन निर्देशन दिए। ‘राम्रा कामको प्रचार गरौं र कमजोरी भएका ठाउँमा सुधारौं,’ उनले भने, ‘अहिले व्यक्तिवाद, भ्रष्टाचार र अहंकारले गर्दा समस्या देखिएको छ, यसलाई अन्त्य गर्नैपर्छ।’
सहसंयोजक नेपालले पार्टीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै सूचना प्रविधि क्षेत्रको महत्त्वबारे चर्चा गरे। धेरैजसो पुराना नेताहरू प्रविधिमा कमजोर रहेको औँल्याउँदै उनले भने, ‘हामीलाई आईटी सेक्टरको ज्ञान भएका साथीहरू चाहिएको छ। कतिपयलाई त म्यासेज पठाउन र वेबसाइट हेर्न पनि आउँदैन। अबको युगमा प्रविधि नबुझी नेतृत्व गर्न सम्भव छैन।’
रास्वपा लगायत पछिल्लो समय उदाएका नयाँ राजनीतिक दलहरूतर्फ लक्षित गर्दै उनले ‘पपुलिजम’ को आयु छोटो हुने टिप्पणी गरे। बङ्गलादेश र श्रीलङ्काको उदाहरण दिँदै उनले भने, ‘बङ्गलादेशमा पनि यस्तै भएको थियो, तर चुनावले त्यस्ता शक्तिलाई बाहिर निकालिदियो। श्रीलङ्कामा पनि पहिले त्यस्तै स्थिति बने पनि अहिले कम्युनिष्ट पार्टीले नै सत्ता सम्हालेको छ।’
उनले नेपालका अन्य राजनीतिक दलहरूको अवस्था पनि नाजुक रहेको बताए। ‘नेपाली कांग्रेस र राप्रपा आन्तरिक द्वन्द्वमा फसेका छन्, मधेसवादी दलहरूको स्थिति कमजोर छ र रास्वपा ९रास्वपा० को हालत के हुन्छ भन्ने सबैले देखिरहेकै छन्,’ नेता नेपालले भने, ‘विश्वभर कम्युनिष्ट आन्दोलन पुनः बौरिँदै छ। मस्कोमा भएको १०० देशका कम्युनिष्ट पार्टीहरूको भेलाले पनि यही सङ्केत गरेको छ। अमेरिकामा समेत कम्युनिष्ट झन्डा लिएर हजारौँ मानिस सडकमा निस्कनु आश्चर्यजनक र सुखद पक्ष हो।’
उनले पार्टीको सङ्गठन विभागलाई एउटा सर्कुलर जारी गर्न निर्देशन दिँदै सबै तहका नेताहरूको बायोडाटा र कार्यविवरण सङ्कलन गर्न भने। नेता नेपालले सङ्गठनलाई गतिशील बनाउन र मास परिचालनमा जोड दिन कार्यकर्ताहरूलाई आग्रह गर्दै पार्टीलाई जुझारु बनाउने संकल्प दोहोऱ्याए।