काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हरेक पर्वले नेपालीबिच प्रेम, करुणा, त्याग, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको भावना प्रगाढ बनाउँदै जाने बताउनुभएको छ । राष्ट्रपतिले बकर इदका अवसरमा शुभकामना दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो ।
उहाँले बकर इदपर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । “मुस्लिम समुदायबाट यस पर्वका अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर जानु पर्छ । विश्वास, समर्पण र समाजसेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विश्वका विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबिच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्व कायम हुने छ,” उहाँले भन्नुभएको छ ।
यस्ता पर्वले आआफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्धन र विकासमा टेवा पुग्ने अपेक्षा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
विविधताबिचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै जाने बताउँदै उहाँले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो । यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने बकर इदपर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउने बताउनुभएको छ ।
बकर इदका अवसरमा शुभकामना दिँदै उपराष्ट्रपतिले यस पर्वले सबैलाई आपसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गर्नुभएको हो ।उपराष्ट्रपतिले बकर इदले विपन्न तथा सहयोगको आवश्यकता भएकालाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “धार्मिक महìवसँगै सामाजिक र सांस्कृतिक दृष्टिले पनि यो पर्वले सामूहिकता, सहकार्य र मानवताको उच्च मूल्यलाई उजागर गर्छ,” उहाँले भन्नुभयो ।
