काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ तथा मध्यम धानको ३ हजार ८६० रुपैयाँ कायम गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलका अनुसार किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले समर्थन मूल्य निर्धारण गरिएको हो।
मन्त्रिपरिषद् बैठकले यससँगै अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ। नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तर पत्र स्वीकृत गरिएको छ।
त्यस्तै, सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि सरकारले गरेको छ। बैठकले मुकेश डंगोललाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।
