काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । जेठ ११ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टी सङ्गठन, व्यवस्थापन, समायोजन तथा आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल हुने पार्टीका नेता शैलेन्द्र शाहले बताए । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीको एकता भएपछि यो पहिलो बैठक हो ।
बैठकको कार्यसूचीअनुसार २०७९ सालको प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिनेछ भने पार्टी केन्द्रीय कार्यालय व्यवस्थापनसम्बन्धी विषयमा पनि छलफल हुनेछ । यस्तै, पार्टी सङ्गठनहरूको समायोजनलाई मुख्य प्राथमिकतामा राखिएको छ । केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, पालिका समिति, वडा तथा टोल समितिदेखि भ्रातृ तथा शुभेच्छुक सङ्गठनहरूको समायोजनसम्बन्धी कार्यविधि निर्माण र अद्यावधिकका विषयमा बैठकमा निर्णय हुने जनाइएको छ ।
बैठकमा केन्द्रीय समन्वय समिति सदस्यहरूको कार्यविभाजन, प्रदेश सरकार र सङ्घीय दलबिच समन्वय तथा परामर्श समिति गठन, स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरूसँग समन्वय तथा सदस्यता नवीकरण र अद्यावधिकका विषय पनि कार्यसूचीमा समावेश गरिएको स्रोतले जनाएको छ । त्यसैगरी जिल्ला, पालिका तथा सङ्घीय निर्वाचन क्षेत्रस्तरीय पार्टी अभिमुखीकरण, मेला तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ ।
प्रतिनिधि सभा निर्वाचन २०७९ मा जसपा नेपालको तर्फबाट उम्मेदवार बनेकाहरूको प्रदेशस्तरीय मेला तथा अन्तरक्रियाबारे समेत बैठकमा निर्णय लिइने बताइएको छ । पार्टीले बैठकलाई सङ्गठन सुदृढीकरण र आगामी राजनीतिक रणनीति तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।
