काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठक जारी छ।बैठकको सुरूमै श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखलाई पर्चा देखाएका छन्। संसदको रोस्ट्रम घेराउ गर्दै उनीहरूले सभामुख डोलप्रसाद अर्याललाई विभिन्न नारा लेखिएको पर्चा देखाएका हुन्। पार्टीका दलका नेता हर्क साम्पाङसहित सांसदरूले बैठक सुरू भएलगत्तै रोस्ट्रमअघि पुगेर पर्चा देखाएका थिए।
पर्चामा ुप्रधानमन्त्री संसदप्रति जबाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन,जनमतको सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय जिम्मेवारी बहन गरु लेखिएको छ। झण्डै आधा मिनेट जति पर्चा देखाएपछि साम्पाङसहित सांसदहरू आफ्नो ठाउँमा आएर बसेका थिए। उनीहरूले सोही पर्चा छातीमा टाँसेर बैठकमा भाग लिइरहेका छन्।
सरकारको नीति तथा कार्यक्रम माथिको छलफलपछि प्रधानमन्त्री बालेन शाह जबाफ दिन आएका थिएनन्। त्यतिबेला पनि श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गरेको थियो। आज उक्त पार्टीले पर्चा देखाएर प्रधानमन्त्रीलाई संसदप्रति जबाफदेहि बन्न आग्रह गरेको छ। सभामुख अर्यालले श्रम संस्कृति पार्टीलाई मर्यादामा रहेर विरोध गर्न आग्रह गरेका छन्।
