काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र साह उपस्थित नभएको विरोधमा चार राजनीतिक दलले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । बैठक बहिष्कार गर्नेहरूमा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) रहेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका विभिन्न जिज्ञासा र प्रश्नहरूको सम्बोधन प्रधानमन्त्री स्वयंले गर्नुपर्ने माग ती दलहरूले राख्दै आएका थिए ।
प्रधानमन्त्री साह जवाफका लागि संसदमा उपस्थित नभएपछि असन्तुष्ट बनेका प्रतिपक्षी दलहरू सदनबाट बाहिरिएका हुन् । चार दलले बैठक बहिष्कार गरेर बाहिरिए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सदनभित्रै उभिएर विरोध प्रदर्शन जारी राखेको छ । कांग्रेसका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको बताउँदै आएका थिए । यसअघि प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्रीले नै संसदमा उभिएर स्पष्टीकरण दिनुपर्ने अडान राख्दै आएका थिए ।
प्रधानमन्त्रीको अनुपस्थितिले संसदको गरिमा र उत्तरदायित्वमाथि प्रश्न उठेको भन्दै विपक्षी दलहरूले सदनको कामकारबाहीमा असहमति जनाएका हुन् । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका विषयमाथि जवाफ दिन थालेपछि विपक्षीले संसद बहिष्कार गरेर हिँडेका हुन्।
विपक्षी दलले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै आएका छन्। तर, प्रधानमन्त्री संसदमा नआएर आफ्नो तर्फबाट अर्थमन्त्रीलाई जवाफ दिन पठाएका हुन्। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलको अवरोधकै बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिन समय दिएका थिए ।
