काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गरिँदै छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन । तपाईँहरू हल्लाको पछि नलाग्नुहोस्, तपाईँहरू हाम्रो साझेदार हो ।’
कार्यक्रममा अर्थमन्त्री वाग्लेले १०० बिलियन डलरको अर्थतन्त्र बनाउने सरकारको योजनामा निजी क्षेत्र साझेदार रहेको पनि बताए । उनले सरकारका पाँच प्राथमिकताका बारेमा पनि स्पष्ट पारे । उनका अनुसार सरकारको पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान र तेस्रो मुलुकको आन्तरिक तथा बाह्य कनेक्टिभिटी हो । त्यस्तै चौथो प्राथमिकता सामाजिक लगानी र पाँचौँ पर्यटन, संस्कृति तथा इतिहासमार्फत ‘सफ्ट पावर’ विस्तार गर्नु रहेको उनले जानकारी दिए ।
अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक पुगेको भन्दै उनले त्यसका लागि आगामी बजेटसम्म पर्खिन उद्योगी व्यवसायीलाई आग्रह गरे । राजनीतिक स्थायित्व र इमानदारीपूर्वक देश अघि बढाउँदा छिमेकी मुलुक भारतले गरेको प्रगतिको उदाहरण दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्ने समय र अहिले नेपालको अर्थतन्त्रका केही सूचकहरू समान रहेको बताए ।
‘सन् २०१४÷१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रको केही सूचक नेपालको अहिलेकै हाराहारीमा थियो । तर पछिल्लो १२ वर्षमा त्यहाँ ठुलो फड्को मारिएको छ । हामी पनि अब सोही बाटोमा लाग्ने बेला भएको छ,’ उनले भने ।
