काठमाडौं । प्रतिनिधिसभामा सभामुख डीपी अर्यालले प्रतिनिधि सभालाई प्रभावकारी बनाउने विषयमा सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्। आज सिंहदरबारमा बोलाएर सभामुख अर्यालले छलफल गरेका हुन्। रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले सदनको कामकाजलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएको बताइन्।
उनले भनिन्, ‘प्रतिपक्ष दलहरू पनि यस देशको नागरिक हो, उहाँहरूले पनि यो देशमा परिवर्तन हुनुपर्छ भन्ने अपेक्षा राख्नुभएको छ। विचारहरू फरक हुन सक्छन् तर नियत सबैको एउटै छ। त्यो भएको भएर कसरी यो अध्यादेश आयो भन्ने विषयमा सबै जना अवगत नै हुनुहुन्थ्यो। त्यसमा अलिकति चाँडो भइदिएको भए हामीले अध्ययन गर्न पाउँथ्यौँ भन्ने कुरा आएको छ।’ अध्यादेशको कानुनी प्रावधानबारे छलफल भए पनि कुनै पनि दल आपत्ति जनाउने वा विमति राख्ने खालको कुनै छलफल नभएको बताइन्।
प्रमुख प्रतिपक्षी दल कांग्रेसकी प्रमुख सचेतक बासना थापाले पनि संसदीय फाँटमा काम गर्दै जाँदा सहकार्यको भूमिकाको अपेक्षा गरेको बताइन्। उनले भनिन्, ‘आज कुनै एजेन्डा थिएन। उहाँले हामीलाई आफ्नो कार्यालय सञ्चालन कसरी गर्ने, कसरी चलिरहेको छ भन्ने कुरा राख्नुभयो। पहिलो मिटिङमा बधाई कार्यक्रम तथा सहजीकरणको भूमिकाको कुरा मात्रै भयो।’ उनले आफूहरूले सदन चाँडै चलाउनुपर्ने माग राखेको बताइन्। आफूहरूले संसद् अधिवेशनबारे कुरा राखेपछि सभामुखले भोलि यसबारे निर्णय हुने जवाफ दिएको बताइन्।
बैठकमा बोल्दै एमाले सचेतक निता घतानी, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले दुई विषयमा आपत्ति जनाएका हुन् । बैठकपछि एमाले सचेतक घतानीले उचित व्यवस्थापनबिना सुकुमबासीको घर भत्काउने र आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन रोकेर अध्यादेश ल्याउने विषयले विपक्षीलाई सोच्न बाध्य बनाएको विषय उठाएको जानकारी दिइन्।
‘सरकारले उचित व्यवस्थापनबिना सुकुमबासी बस्तीमा डोजर चलाएको छ । घर भत्किएका सुकुमबासीहरू अहिले अप्ठ्यारोमा परेका छन् । सरकार भने आह्वान भएको सङ्घीय संसद्को अधिवेशन रोकेर अध्यादेश राज गर्दै छ भन्ने विषय उठायौँ,’ घतानीले रातोपाटीसँग भनिन्, ‘मैले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले यो विषय उठाउँदै अब विपक्षीले विकल्पबारे पनि सोच्छौ भनेका छौँ ।’
आफूहरूको प्रश्नको जवाफमा सभामुख अर्यालले भोलिसम्म पर्खिनुस् सरकारले मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने जानकारी दिएको पनि घतानीले बताइन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख ९ गते वैशाख १७ गते दिउँसो २ बजेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए ।
