काठमाडौं । सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक ( आईजीपी ) मा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १९ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदैछन् । उनी २०७९ वैशाख १८ गते आईजीपी नियुक्त भएका थिए । सशस्त्र प्रहरी सेवा नियमावलीले सेवा प्रवेश गरेको ३० वर्षमा अनिवार्य अवकाशको व्यवस्था गरेको छ ।
त्यसमध्ये विभिन्न पदका पदावधि तोकिएको छ । आईजीको पदावधि चार वर्ष तोकिएको छ । अर्याल ३० वर्षे सेवाअवधि पूरा हुनुभन्दा २३ महिनाअगावै पदको अवधि पूरा गरी अवकाश हुने भएका हुन् । नवनियुक्त आईजी पौडेल र अवकाश हुने अर्याल नेपाल प्रहरीको निरीक्षक ९इन्स्पेक्टर० दर्जामा एकै मितिमा प्रवेश गरेका हुन् । उनीहरु नेपाल प्रहरीको १११ औँ टोलीका अधिकृत हुन् । उक्त टोलीको भर्ना मिति २०५४।१२।१८ हो । नेपाल प्रहरीका आईजी दानबहादुर कार्की पनि सोही टोलीका अधिकृत हुन् ।
अर्याल, पौडेलसहितका अधिकृत २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा उक्त संगठनमा समायोजित भएका थिए । समायोजनका क्रममा उनीहरुले प्रहरी सेवाको दर्जाको एक तह बढुवा पाएका थिए । सशस्त्रको आईजीका निम्ति पौडेलसँगै अर्का एआईजी बंशीराज दाहाल पनि प्रतिस्पर्धामा थिए । उनी पनि प्रहरीको १११ औँ टोलीकै अधिकृत हुन् । तर, एआईजी बढुवा हुँदा पौडेल अगाडि भए । उनको बढुवा २०७९ जेठ ६ गते भएको थियो । दाहाल भने २०७९ असोज २८ मा एआईजी बढुवा भएका थिए ।
डीआईजी बढुवादेखि नै दाहाल पौडेलभन्दा पछाडि परेका थिए । पौडेल २०७५ कात्तिक १३ मा डीआईजी बढुवा भएका हुन् भने दाहाल २०७६ माघ २२ मा बढुवा भएका थिए । सरकारले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ५३ बमोजिम पौडेललाई आईजी नियुक्त गरेको हो । उक्त नियममा ज्येष्ठता र कार्यकुशलता, नेतृत्व क्षमता र आर्थिक अनुशासन, व्यवस्थापकीय एवं रचनात्मक क्षमता एवं तल्लो तहका कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्ने सामथ्र्यका आधारमा आईजी नियुक्त गर्ने व्यवस्था छ ।
