काठमाडौँ । बालेन शाह नेतृत्वको वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्री र अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन रहेको देखिएको छ । सम्पत्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न प्रकारका टिप्पणीहरू सुरु भएका छन् ।
धेरैजसोले प्रधानमन्त्रीसहितका मन्त्रीहरूको गरगहना ( सुन, चाँदी, हार ) लगायतका विषयमा प्रश्न गरिरहेका छन् । सार्वजनिक भएको विवरण अनुसार, सबैभन्दा धेरै सुन उद्योगमन्त्री गौरी कुमारीको सबैभन्दा बढी देखिन्छ । उनले आफ्नो सम्पत्ति विवरणमा सुनमात्रै १८० तोला रहेको उल्लेख गरेकी छिन् ।
उता प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन ) ले गरगहना १९० तोला रहेको उल्लेख गरेका छन् । यद्यपि उनले सुन, चाँदी, हिरा भनेर केही पनि उल्लेख गरेका छैनन् ।
त्यस्तै, गृहमन्त्री सुधन गुरुङ– ८९ तोला, श्रम मन्त्री रामजी यादवको ८० तोला सुन रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेको ४५ तोला, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको ३० तोला, स्वास्थ्यमन्त्री निशा मेहेताको ३० तोला, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको २५ तोला रहेको जनाएका छन् ।
त्यसैगरी शिक्षामन्त्री सस्मित पोखरेलको २५ तोला, परराष्ट्रमन्त्री शिशिर खनालको २२ तोला, महिला बालबालिकामन्त्री सीता वादीको १८ तोला सुन रहेको विवरणमा छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको १५ तोला, कानुनमन्त्री सोविता गौतमको १५ तोला, पर्यटनमन्त्री खडकराज पौडेलको ११ तोला, सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको करिब ७ तोला र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको ५ तोला सुन रहेको विवरणमा उल्लेख छ ।
कतिपय मन्त्रीहरूले यी बहुमूल्य धातुहरूलाई पुर्ख्यौली सम्पत्तिका रूपमा उल्लेख गरेका छन् भने कतिपयले विवाह र स्वआर्जनबाट प्राप्त भएको जनाएका छन् । विशेष गरी प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको परिवारसँग सुनको परिमाण निकै उच्च देखिएको छ । त्यस्तै, अन्य युवा मन्त्रीहरूको विवरणमा पनि सुनको आकर्षण बढी नै देखिन्छ।
