दाङ्ग । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी सदस्यता नवीकरण गर्नको लागि प्रत्येक व्यक्ति वडामा जानुपर्ने बताएका छन्। आज लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा प्रदेशस्तरीय ‘निर्वाचन समीक्षा’ कार्यक्रमलाई सम्बोधन गर्दै वडामा गएर सदस्यता नवीकरण नगर्नेको अब कायम नहुने बताए । सदस्यता लिएपछि पार्टी विधान अनुसार वडा कार्यालयमा पुगेर शपथ लिनैपर्ने बताए ।
क्रियाशील सदस्यताको फर्म भर्नेले कांग्रेसका कार्ड पाउने र फर्म नभर्नेले महाधिवेशनमा भाग लिन नपाउने बताए । उनले भने, ‘मेरो वडामा अहिले ३५३ जना कांग्रेसका क्रियाशील सदस्य छौँ । यो ३५३ नै जना हामी इच्छुक भएर त्यहाँ जान पनि सक्छौँ ३५३ नै रहन पनि सक्छ। अब यसलाई कसैले खारेजी भन्नुहुन्छ कसैले यसलाई अद्यावधिक भन्नुहुन्छ के भन्ने त्यो आफू आफूले भनेको हो। तर पार्टीको विधानले के भन्छ यो विशेष महाधिवेशनबाट पारित भएको विधानले के भन्छ एक पटकको लागि अद्यावधिक अनिवार्य छ।’
सदस्यता अद्यावधिकको प्रक्रियामा सहभागी हुने १ गते आफू वडा कार्यालयमा जान लागेको बताए। उनले थपे, ‘प्रत्येक सहभागीले कांग्रेसको आइडेन्टिटी कार्ड पाउनुहुन्छ। अब प्राप्त हुने कांग्रेसको आइडेन्टिटी कार्ड भनेको कांग्रेसको एउटा डिजिटल इन्फ्रास्ट्रक्चर हामीले बनाएका छौँ। अब उप्रान्त कसैले पनि कहिले पनि फारम भर्नुपर्दैन। अब त्यो क्रियाशीलको फारम भर्ने भन्ने कुरा सकियो एक पटक हो यो अन्तिम हो।
सबै हामी सँग सिस्टममा रहन्छ सबै कुरा डिजिटाइज गरेका छौँ । तर, जसले भर्नुहुन्न नभर्नेले महाधिवेशनमा भाग लिन पाउनुहुन्न। यो कुरा एकदम स्पष्ट छ ।’उनले आफूहरूले कसैको सदस्यता खोस्न नखोजेको जिकिर गरे । उनले वैशाख २ मा पार्टीको कार्यसम्पादन समितिको बैठक राखेर १०(१२ वटा महत्त्वपूर्ण निर्णय गर्ने बताए। पार्टीले वैशाख ४ गते संसदीय दलको नेता छान्ने प्रक्रिया टुङ्ग्याउने समेत बताए ।
