काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज पेसी तोकिएको हो। गगन थापा समूहलाई आधिकारिकता दिएको निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै देउवा पक्ष सर्वोच्च पुगेको थियो ।
गत माघमा नेपाली कांग्रेसको भृकुटीमण्डप विशेष महाधिवेशनले वैधानिक रुपमा सभापतिमा गगनकुमार थापालाई सभापतिमा निर्वाचित गरे पनि पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टी निर्णयलाई चुनौती दिने क्रम जारी नै रहेको छ । कांग्रेसको चैत दोस्रो साता बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी आगामी २०८३ असोज १६–१९ सम्म १५औं महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो।
उक्त कार्यतालिकाविरुद्ध देउवा समूहले १५औं महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पेसी तोकिएको हो। बिहीबार दर्ता पूरक रिटलाई सर्वोच्चले आज पेसी दिएको छ। यसअघि विशेष महाधिवेशनलाई मान्यता नदिन माग गर्दै रिटको पेसी आगामी वैशाख ३ गतेका लागि तोकिएको छ।
