काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज सामूहिक भेट र संवाद गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री शाहले उनीहरूसँग सामूहिक भेट र संवाद गरेका हुन्।
सो भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूतरनियोग प्रमुखहरूको उपस्थिति रहेको थियो।
राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। उनीहरूले नेपाली जनताको हितमा परिणाम दिने गरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता समेत व्यक्त गरे। प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकतामा जोड दिए।
