काठमाडौं। सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र’ तयार पार्न गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गत चैत १३ गते सार्वजनिक गरेको ‘शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूची’ को बुँदा नम्बर ४ मा यो कार्यदल गठन गर्ने व्यवस्था गरिएको थियो ।
आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यदलको बैठक प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बस्न लागेको हो
कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का तर्फबाट मोहन आचार्य, नेकपा ( एमाले ) का तर्फबाट संविधान सभाका तत्कालीन सदस्य डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का तर्फबाट संविधान सभाका तत्कालीन सदस्य एवं पूर्व कानुनमन्त्री देव प्रसाद गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट सदस्यका छन् ।
नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट कार्यदल सदस्यको नाम टुङ्गो लाग्न बाँकी छ । कार्यदलले पूर्वराष्ट्रपति, संविधानविद्, कानुनी व्यवसायी, पूर्वप्रधानन्यायाधीश, सञ्चारमाध्यम, धार्मिक संस्था, निजी क्षेत्र, जेन–जी पुस्ताका अगुवा र स्थानीय तहका प्रतिनिधिहरूसँग चरणबद्ध रूपमा बृहत् छलफल गरेर संविधान संशोधन बहसपत्रलाई पूर्णता दिनेछ ।
