काठमाडौं । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई प्रतिनिधिसभाको दसौँ सभामुखका रूपमा शपथ गराएका हुन्।
यसअघि आइतबार नै बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का १८२ सांसदको समर्थन र अन्य दलको उम्मेदवारी नपरेपछि अर्याल सर्वसम्मत चयन भएका हुन्।
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पदबहाली गरेका छन्। उनले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सभामुखको कार्यभार सम्हालेका हुन्। सभामुख अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्च अधिकारीले स्वागत गरेका थिए।
धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित भए। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं ९ बाट निर्वाचित भएका थिए। निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी वहन गरिसकेका छन्।
नवनिर्वाचित सभामुखमा अर्यालले जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धान, रोजगारी तथा व्यवसाय सञ्चालन गरेका थिए। वर्षदेखि स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ विगत २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा उनी क्रियाशील छन्। व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाएका अर्यालले २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक उपसभापति हुन्।
संसद्को अघिल्लो कार्यकालमा श्रममन्त्रीको जिम्मेवारीमा रहँदा उनले श्रमिकका अधिकार रक्षा, वैदेशिक रोजगार प्रणालीमा पक्रियागत सुधार र सामाजिक सुरक्षाका खातिर उल्लेखनीय योगदान गरेका थिए। संसद्का प्रमुख अर्याललाई कानुन निर्माण, सरकारका गतिविधिको निगरानीका साथै राजनीतिक ध्रुवीकरण र दलहरूको मतभेद अन्त्य गर्न सन्तुलित ढङ्गले संसद् सञ्चालन गर्नु चुनौतीपूर्ण छ।
