काठमाण्डौं । देशभरका नापी तथा मालपोत कार्यालयमा अब अनधिकृत व्यक्तिले प्रवेश नपाउने भएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले परिचय खुल्ने कागजात हेरेर मात्रै कार्यालयमा प्रवेश गराउन निर्देशन दिएको छ। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको निर्देशन र सचिवस्तरीय निर्णय अनुसार नापी विभागले बुधबार देशभरका विशेष नापी कार्यालय र सबै नापी कार्यालयलाई पत्राचार गर्दै यो व्यवस्था तत्काल लागू गर्न आदेश दिएको हो।
मन्त्रालयले यस नियमको कार्यान्वयन भएरनभएको विषयमा जुनसुकै बेला छड्के अनुगमन हुने चेतावनी दिएको छ। यदि कार्यालयमा बिचौलियाको प्रवेश भएको वा सरकारी स्रेस्तामा उनीहरूको पहुँच पुगेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई नै जिम्मेवार ठहर्याएर कारबाही गरिने विभागको पत्रमा उल्लेख छ। जग्गा प्रशासनसँग सम्बन्धित कार्यालयहरूमा विभिन्न बहानामा बिचौलिया प्रवेश गर्ने र अत्यन्तै गोप्य तथा संवेदनशील कागजातमा अनियन्त्रित पहुँच राख्ने गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।
विभागको निर्देशनअनुसार अब सबै कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र लगाउनुपर्नेछ। वास्तविक सेवाग्राहीले भने आफ्नो निवेदन वा परिचय खुल्ने कागजात देखाएर मात्र कार्यालय प्रवेश गर्न र सहज रूपमा सेवा लिन पाउनेछन्। नयाँ नियमलाई कडाइका साथ लागू गर्न र आम नागरिकको जानकारीका लागि अविलम्ब सूचना पाटीमा टाँस गर्नसमेत विभागले मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ।
