काठमाडौं । जेनजी आन्दोलनमा शहीद भएका २७ जना शहिद परिवारले नेपाल विद्युत प्राधिकरणमा रोजगारी पाउने भएका छन्। आइतबार प्राधिकरण रोजगारी आवेदकहरूको नाम समेत सार्वजनिक गरेको छ। कसैको हकदाबी रहेमा ३५ दिनभित्रमा प्राधिकरणमा सम्पर्क गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। निवर्तमान उर्जामन्त्री कुलमान घिसिङले समेत यसको स्वागत गरेका छन्।
उनले सामाजिक सञ्जालबाट भनेका छन्, ‘भदौ २३(२४ गतेको सम्पन्न जेनजी आन्दोलनका शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय कार्यान्वयनमा आएको खबरले अत्यन्त खुसी लागेको छ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रीको जिम्मेवारीमा रहँदा, मेरो अध्यक्षतामा गत पुस २२ गते बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको थियो।’
उनका अनुसार जेनजी शहीद परिवारका २७ जनाबाट प्राप्त निवेदनको आधारमा, उनीहरूको यकिन गरी पायक पर्ने प्राधिकरण कार्यालयहरूमा शैक्षिक योग्यताअनुसार बढीमा तीन तहसम्म करार नियुक्ति दिने व्यवस्था गरिएको छ। सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायतासम्बन्धी कार्यविधि तथा शहीद परिवारका सदस्यहरूको निवेदनका आधारमा यो निर्णय गरिएको हो, शहीदहरूको अमूल्य योगदानको सम्मान गर्दै, परिवारप्रति राज्यको उत्तरदायित्व पूरा गर्ने यो कदम अझ प्रभावकारी र शीघ्र कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु’, उनले भनेका छन्।
