काठमाडौं । रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले केही मन्त्रालय गाभेर १६ मा सिमित गरेको छ । प्रधानमन्त्री शाहले रक्षा र उद्यो वाणिज्य आफैंसँग राख्दा बाँकी १४ जना मन्त्रीले राष्ट्रपतिबाट सपथ लिएका छन् । प्रधानमन्त्रीले आफ्नो साथमा रक्षा र उद्योग मन्त्रालय राखेका छन् । कार्यप्रकृति हेर्दा यी दुई मन्त्रालय गाभिने सम्भावना देखिँदैन । मन्त्रीहरूलाई बाडिएको कार्यक्षेत्र हेर्दा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय एकठाँउ गाभिने देखिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र युवा तथा खेलकुद मन्त्रालय पनि गाभिनेछन् । यसअघि ती दुई छुट्टाछुट्टै मन्त्रालय थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खानेपानी मन्त्रालय गाभ्ने योजना बनेको देखिन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय गाभेर एउटै बनाउने तयारी भएको छ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण विकास मन्त्रालय पनि अब गाभिनेछ ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल सरकराको कार्यविभाजन नियमावली संशोधन गर्नेछ । र, त्यसका आधारमा मन्त्रालयहरू गाभिएको औपचारिक निर्णय हुनेछ । यसअघि सरकारले १० साउन, २०७५ मा जारी गरेको कार्यविभाजन नियमावली अनुसार, हाल २१ मन्त्रालय छन् । मन्त्रालय सरहको संरचना समेत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय जोड्ने हो भने यो संख्या २२ पुग्छ । अब भने मन्त्रालयहरुको १६ को हाराहारीमा रहने देखिन्छ ।
यसअघि अलग अस्तित्वमा रहेको युवा तथा खेलकुद मन्त्रालयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा गाभिएको छ र यसको जिम्मेवारी सस्मित पोखरेलले पाएका छन् । त्यस्तै खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभिएको छ । यसको जिम्मेवारी निशा मेहताले पाएकी छन् ।
वन तथा वातावरण मन्त्रालय पहिलो पटक खारेज भएर कृषि मन्त्रालयमा गाभिएको छ । यसको जिम्मेवारी गिता चौधरीले पाएकी छन् ।त्यस्तै, भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालय अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाभिएको छ । यसको जिम्मेवारी प्रतिभा रावलले पाएकी छन् ।
