काठमाण्डौं । देशको ४३ औ प्रधानमन्त्री बन्न लागेका बालेन शाह काठमाडौं महानगरपालिकाका पूर्वमेयर शाह हुन् । गत फागुन २१ गते भएको प्रतिनीधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट भारी मतले विजयी भएका हुन्। प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुभन्दा केही दिनअघि मेयरबाट राजीनामा दिएका उनी रास्वपामा वरिष्ठ नेताको पदसहित प्रवेश गरेका हुन्। रास्वपा शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा गएको थियो। रास्वपाले पूर्वघोषणाअनुरुप शाहलाई प्रधानमन्त्री बनाउन संसदीय दलको नेता चयन गरेको छ। शाहले शुक्रबार कार्यकारी प्रधानमन्त्री पदको शपथसँगै मुलुकको बागडोर सम्हाल्ने छन्।
शाहको जन्म १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको हो। उनी हाल गैरिगाउँ, तिनकुनेका बासिन्दा हुन्। आयुर्वेदिक चिकित्सक डा। रामनारायण शाह र धुव्रादेवी साह उनका मातापिता हुन्। उनको पुख्र्यौली थलो मधेस प्रदेशको महोत्तरी जिल्ला हो। काठमाडौं नरदेवीस्थित जल्जला स्कुलबाट प्रारम्भिक शिक्षा लिएका उनले उच्च माध्यमिक तहको शिक्षा भिएस निकेतनबाट पास गरेका हुन्। उनले स्नातक तहको अध्ययन काठमाडौंमै रहेको हिमालयन ह्वाइट हाउस कलेजबाट पूरा गरेका हुन्।
त्यहाँ उनले सिभिल इन्जिनियरिङ अध्ययन गरेका थिए। उनले स्नातकोत्तर तहको अध्ययन भारतमा गरेका हुन्। भारतको कर्नाटकबाट स्ट्रकचरल इन्जिनिरिरिङ अध्ययन पूरा गरेका शाहलाई निर्माणसम्बन्धी कार्यको अनुभव पनि छ। उनी प्रतिनिधि सभा निर्वाचन, २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको विजयपछि नेपालको मनोनित प्रधानमन्त्री हुन्। आफ्नो मन्त्रिमण्डल गठनसँगै उनी नेपालको पहिलो मधेशी मूलको प्रधानमन्त्री बन्ने तयारीमा छन्। उनले यसअघि २०७९ देखि २०८२ सम्म काठमाडौँ महानगरपालिकाको १५औँ नगर प्रमुखका रूपमा सेवा गरेका थिए, जुन पद सम्हाल्ने उनी पहिलो स्वतन्त्र उम्मेदवार थिए। स्थानीय तह निर्वाचन, २०७९मा शाह काठमाडौँको नगर प्रमुखमा निर्वाचित भएका थिए। आफ्नो कार्यकालमा उनले फोहोर व्यवस्थापन र ट्राफिक व्यवस्थापनमा विभिन्न पहलहरू सुरु गरेका थिए।
अनधिकृत संरचनाहरू भत्काउने, सुकुम्बासी बस्ती व्यवस्थापन र फुटपाथ व्यवसायीहरू विरुद्धको कारबाहीका कारण उनको प्रशासनले आलोचना र विवादको पनि सामना गर्नु परेको थियो। मेयरको रूपमा आफ्नो कार्यकालमा शाहले विशाल नेपालको अवधारणालाई पनि प्रवद्र्धन गरेका थिए। शाह जेनजी आन्दोलनको समयमा एक प्रमुख राजनीतिक व्यक्तित्वका रूपमा उदाएका थिए। २०८२ माघमा उनले काठमाडौँको मेयर पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी प्रतिनिधि सभा निर्वाचन, २०८२ पार्टीको प्रधानमन्त्री उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए। उनले झापा ५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतले पराजित गर्दै आफ्नो पार्टीलाई ऐतिहासिक बहुमत दिलाउन सफल भएका थिए।
२०७२ सालको भूकम्पपछि देशका विभिन्न स्थानमा पुगेर उनी पुनःनिर्माणको काममा संलग्न भएका थिए। भूकम्प र कोभिड महामारीका बेला विभिन्न तरिकाले सामाजिक र पेसागत कार्यमा सक्रिय रहेका उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट निर्वाचित भए। बालेन कन्सल्टिङ र कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत भएर काम गरेका उनी ¥याप ब्याटल गायक पनि हुन्। उनी नेपाली ¥याप ब्याटल दोस्रो लिगका विजेता पनि हुन्। उनी लामो समयदेखि संगीतको यो विधामा संलग्न छन्। ¥याप गायक उनका देश विदेशमा थुप्रै प्रशंसक छन्। सानैदेखिे संगीत र कवितामा पनि रुचि राख्ने उनले आफ्नो पहिलो गीत ‘सडक बालक’ सन् २०१२ मा गाएका थिए। यो गीत उनले कक्षा ९ मा पढ्दा लेखेको बताइन्छ।
