काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा देशभर ४१ अर्ब ८९ लाख १८ हजार ७०९ रुपैयाँ बराबरको क्षति भएको तथ्यांक गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ।
थाहाखबरलाई प्राप्त आयोगको प्रतिवेदन अनुसार सबै भन्दा बढी सरकारी ९सार्वजनिक० क्षेत्रको ५७१ निकाय एवं कार्यालयको क्षति १४ अर्ब ७४ करोड ७२ लाख ६८६ हजार ५९७ रुपैयाँ छ। निजी क्षेत्रको ८२१ व्यक्ति तथा निकायको समग्र क्षति २२ अर्ब २७ करोड ८१ लाख ३७३ हजार ३१ रुपैयाँ छ। त्यसैगरी सामुदायिक तथा अन्य क्षेत्रको २४२ निकाय वा संस्थाको ३ अर्ब ९८ करोड ३५ लाख १२ हजार ७४५ रुपैयाँ छ।
‘मुलुकमा ठूलो भौतिक क्षति हुन पुगेको छ। खासगरी सार्वजनिक र निजी भवन, व्यापारिक प्रतिष्ठानहरू, सवारी साधन, चल अचल सम्पत्ति, सुरक्षा निकायका हातहतियार एवं बन्दोबस्तीका सामानहरू लगायतका सामानहरूको क्षति भएको छ’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘आयोग गठन भए पश्चात् सार्वजनिक रूपमा सूचना आह्वान गरी, विज्ञप्ति मार्फत, पत्राचारद्वारा, संवाद एवं भेटघाट लगायतका माध्यमबाट आन्दोलनबाट भएको क्षतिको विवरण माग गरिएको थियो। पत्राचार, इमेल तथा प्रत्यक्ष रूपमा आयोगमा उपस्थित भई दर्ता भएका विवरणहरूबाट समग्र क्षतिको रकम एकीन गरिएको छ।’
