काठमाडौँ । सरकारले सवारीसाधनको प्रयोगमा जोरबिजोर प्रणाली लागु गर्ने विषयमा छलफल अगाडि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धन खपत कम गर्न सार्वजनिक सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने गरी छलफल गरेको हो । यातायात व्यवस्था विभागले पनि यस विषयमा यातायात व्यवसायीसँग छलफल गरेको छ ।
पश्चिम एसियाली मुलुकमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने गृहकार्य गरिएको हो । युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल १०२ अमेरिकी डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गर्छ । इन्डियन आयल कर्पोरेसन ( आइओसी ) ले गत साता पठाएको मूल्य अनुसार पेट्रोल लिटरमा ३१, डिजेल ५४ रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २१६ रुपियाँ मूल्य बढेर आएको थियो । निगमले पेट्रोलमा १५ र डिजेलरमटितेलमा १० रुपियाँ मूल्य बढाएको थियो । मूल्य धेरै बढेर आए पनि निगमले मूल्य स्थिरीकरण कोषबाट व्यवस्थापन गर्ने गरी कम मूल्य घटाएको थियो ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने विषयमा छलफल भए पनि कहिलेदेखि लागु गर्ने भनेर निर्णय भइनसकेको जानकारी दिनुभयो । इन्धनको खपत कम गर्न बिजुलीको प्रयोग बढाउन उहाँले आग्रह गर्नुभयो । ग्यासको विकल्पमा इन्डक्सन चुलो र राइस कुकर प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।
पश्चिम एसियाको द्वन्द्वले विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा असर पारेसँगै नेपालमा सम्भावित समस्या आउन नदिन खपत घटाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले मङ्गलबार निजी व्यवसायीलाई बोलाएर सवारीसाधनमा जोरबिजोर सञ्चालन गर्नेलगायतका विषयमा छलफल गर्न लागिएको जानकारी दिनुभयो ।
यसैबिच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढे पनि आयातसमेत बढेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/ ८३ को आठ महिनामा पेट्रोलियम पदार्थको आयात बढेको छ । चालु आवको माघको तुलनामा फागुन महिनामा डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको आयात बढेको हो । विभागका अनुसार माघमा चार लाख ४२ जहार ७८७ किलोलिटर पेट्रोल आयात भएकोमा फागुनमा बढेर पाँच लाख ११ हजार ९०७ किलोलिटर पुगेको छ । यस्तै माघसम्म सात लाख ६६ हजार ९३६ किलोलिटर डिजेल आयात भएकामा फागुनमा बढेर आठ लाख ९६ हजार ४४८ किलोलिटर आयात भएको छ ।
