काठमाण्डौं । नवनिर्वाचित सांसदहरूको शपथ र संसद् बैठकका लागि तयारी जारी छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्यको शपथ आउँदो ११ गते हुने भएको छ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य पहिचान भएका छन् । उनी कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेका हुन्। केसीले ११ गते बिहान राष्ट्रपतिसमक्ष शपथ लिएपछि बाँकी सांसदलाई उनैले शपथ गराउनेछन्।
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते गर्ने तय भएको सङ्घीय संसद् सचिवालयले यसअघि नै जनाइसकेको छ । सांसदको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभा कक्षलगायतको सबै तयारी पूरा भएको छ । सिंहदबारभित्र निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदको शपथ ग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि तयारी गरिएको हो ।
चुनावको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ । बहुउद्देश्यीय सभाकक्षमा कुर्सीको व्यवस्थापन भइसकेको र माइक, क्यामेरालगायत मिलाउने काम पनि अन्तिम चरणमा पुगेको सचिवालयले जनाएको छ ।
