काठमाडौँ । मौसम बदलीसँगै पश्चिम नेपालबाट सुरु भएको वर्षा अहिले पूर्व सर्ने क्रममा मध्येक्षेत्र आइपुगेको छ। अहिले काठमाडौँ लगायतका धेरै जिलामा असिना सहितको पानी परेको छ। सुदुरपश्चिममा केही कम भएर गण्डकी, लुम्बिनी, कर्णाली र बागमती प्रदेशका जिल्लाहरूमा वर्षा भइरहेको छ।
विस्तारै पूर्व सरिरहेको र राति कोशी र मधेश प्रदेशमा पनि वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ। तराइमा बढी हावाहुरी चल्ने छ भने केही क्षेत्रमा भारी वर्षाको पनि सम्भावना रहेको छ। रातीबाट वर्षा केही बढ्ने अनुमान गरिएको छ। अचानक मौसम परिवर्तन भएसँगै केही समयका लागि सवारी आवागमन प्रभावित भएको थियो भने पैदल यात्रुहरूलाई पनि समस्या भएको देखिएको छ। काठमाडौंका विभिन्न क्षेत्रमा असिना सहितको वर्षा भएको छ।
मौसम एक्कासि बदलिएपछि आकाशमा बाक्लो कालो बादल मडारिँदा केही समयका लागि रात परेजस्तो दृश्य देखिएको थियो। विशेषगरी खुला स्थानमा रहेका व्यापारी तथा किसानले आफ्नो सामान जोगाउन कठिनाइ भोगेका छन्। मौसमविद्हरूका अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण मौसम बद्लिएको हो।
यसैका कारण आगामी केही दिनसम्म देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाइएको छ। स्थानीय प्रशासनले नागरिकलाई सतर्क रहन, आवश्यक सावधानी अपनाउन तथा अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ।
