काठमाडौं । निर्वाचनको नतिजा आएसँगै संघीय संसद् सचिवालय प्रतिनिधिसभा बैठकको तयारीमा लागेको छ । राजनीतिक दलहरूका लागि कार्यालय व्यवस्थापन, नवनिर्वाचित सदस्यहरूको शपथसँगै आगामी सभाको सञ्चालनको सन्दर्भमा संसद् सचिवालयले आन्तरिक तयारी अगाडि बढाएको हो । निर्वाचन आयोगले बिहीबार समानुपातिक तर्फबाट निर्वाचिन सांसदहरूलाई प्रमाणपत्र दिँदैछ । प्रत्यक्षतर्फबाट निर्वाचिन सांसदहरूले प्रमाणपत्र पाइसके ।
२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित भएर आएका छन् । दलले पाएको मतका आधारमा निर्वाचित ११० जनाले बिहीबार विजयी भएको प्रमाणपत्र पाउन लागेका हुन् । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रुपमा आएका छन् । १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल भएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले दोस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी तेस्रो दलको रुपमा रहेका छन् । यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं दलको रुपमा रहेको छ भने राप्रपा ५ सिटसहित छैठौं दलको रुपमाा छ । एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
बिहीबार नै निर्वाचन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ । योसँगै निर्वाचन आयोगले यसको जानकारी संघीय संसद् सचिवालयलाई पनि दिनेछ । संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचन आयोगबाट चैत ५ गते निर्वाचन प्रतिवेदन प्राप्त भयो भने भोलिपल्टको पत्रिकामा शपथको सूचना निकाल्ने गरी तयारी गरिएको छ ।
‘१२ गते शपथ गराउने तयारी छ । यो विषयमा राजनीतिक दलका प्रतिनिधिहरूसँग पनि छलफल हुन्छ’ गिरीले भने । नवनिर्वाचित सांसदहरूलाई जेष्ठ सदस्यले शपथ गराउनेछन् । जेष्ठ सदस्यले भने राष्ट्रपतिसँग शपथ लिन्छन् । निर्वाचन आयोगको विवरण अनुसार नवनिर्वाचित २७५ जना प्रतिनिधिसभा सदस्यहरूमा सबैभन्दा जेष्ठ सदस्य अर्जुननरसिंह केसी छन् । उनी ७८ वर्षका भए ।
संविधानको धारा ८८ मा ‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुन बमोजिम शपथ लिनुपर्ने’ व्यवस्था छ । संविधानको धारा ९१ को उपधारा ५ मा ‘प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने’ प्रावधान छ ।
यी संवैधानिक व्यवस्थाअनुसार सभामुख चयन नहुँदासम्म जेष्ठ सदस्यले नै प्रतिनिधिसभाको अध्यक्षता समेत गर्नेछन् । जसअनुसार आगामी प्रतिनिधिसभाको सुरुवातको अध्यक्षता नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद अर्जुन नरसिंह केसीले गर्ने भएका हुन् । ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्नेछ । सभामुख निर्वाचित भएपछि मात्र ज्येष्ठ सदस्यको यो विशेष जिम्मेवारी समाप्त हुनेछ ।
